भारतीय टोलीमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा भारतीय टोली दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ६ विकेटले पराजित गरेको छ । योसँगै दुई अभ्यासको खेलमो सिरिज १–१ को बराबरीमा सकिएको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा ज्ञानेन्द्र मल्ल ५६ बलमा ५ चौकासहित सर्वाधिक ४८ रनमा अविजित रहे ।

ओपनर अर्जुन साउद २७ बलमा ५ चौकासहित २८ र आसिफ शेख ३० बलमा ५ चौकासहित ३० रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ र अर्जुनले ७.५ ओभरमा ४५ रन जोडेका थिए । अर्जुन सिद्धान्त शर्माको बलमा तिलक ठाकुरबाट क्याच आउट भए ।

कप्तान रोहित पौडेल २७ बलमा २ चौका हान्दै २४ रनमा आउट भए । आरिफ शेख १५ र कुशल भुर्तेल ११ रनमा आउट भए । आरिफले १५ बलमा १ चौका र १ छक्का हाने । कुशलले १५ बलमा १ छक्का प्रहार गरेका थिए ।
दिल्लीका सिद्धान्त शर्मा, पर्थ अधरा, ध्रुब चौहान र रवि रोशनले एक एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको दिल्ली ४०।५ ओभरमा १ सय ५८ रनमा अल आउट भयो । दिल्लीका काव्य गुप्ताले ३६ बलमा २ चौकासहित सर्वाधिक ३४ रन बनाए । साहिल मल्होत्राले ५० बलमा ४ चौका र १ छक्कासहित ३१ र वैभव शर्मा २६ रनमा आउट भए ।

अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय दिल्ली १८ ओभरमा ७५–२ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउँदै सस्तैमा अल आउट भयो । दोस्रो विकेटका लागि साहिल र वैभवले ६७ रनको साझेदारी गरेका थिए । वैभवलाई कुशल भुर्तेलले गुलशन झाबाट क्याच गराए । कुशलले नै साहिललाई एलबीडब्लू आउट गरेका थिए ।

पाँच मध्य चार सागरले बोल्ड गरेका थिए । सागरले तिलक ठाकुर यश वर्धन, कनाव गम्भीर र आयुष सिंहलाई बोल्ड आउट गरेका थिए ।

सागर ढकालले ५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ५ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, हरिशंकर शाह र ललित नारायण रजावंशीले एक एक विकेट लिए ।
पहिलो खेलमा नेपाल दिल्लीसँग दुई विकेटले पराजित भएको थियो । नेपालले ३ सय ३ रन बनाएपनि उक्त लक्ष्य रोक्न सकेको थिएन । नेपालका कप्तान रोहित पौडेलले उक्त खेलमा १ सय १३ र दीपेन्द्रसिंह ऐेरीले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया भ्रमण अघि दिल्लीमा अभ्यास खेल खेलेको हो । नेपाल आइतबार राती नामिबिया प्रस्थान गर्नेछ ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल मंसिर १६ (डिसेम्बर २) मा घरेलु टोली नामिबियासँग खेल्नेछ । मंसिर १८ (डिसेम्बर४ मा) स्कटल्यान्डसँग खेल्नेछ । नेपालले मंसिर २१ मा (डिसेम्बर ७) नामिबिया र मंसिर २२ मा (डिसेम्बर ८) स्कटल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया