एक किलो बन्दाको मूल्य १५० रुपैयाँ

बाँके। गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजार स्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरकारीमा मोलमोलाइ पनि उस्तै थियो । अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो । सिजनमा पनि तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए ।

व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए । ‘हामीले पनि किनेरै बेच्ने हो, १० रुपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनीता गिरीले भनिन्, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ, हामीले उत्पादन गरेका होइनौँ, किनेको मूल्यमा पाँच÷दश रुपैयाँ नाफा त खानै पर्यो नि ।’

कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए । उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे । ‘सिजनअनुसार सबै ठाउँमा १०÷२० पर्ने बन्दाको कोहलपुरमा १५० भन्यो’, उनले भने, ‘कोहलपुर गएको मौकामा कृषि बजार स्थल पुगेँ, निकै अस्तव्यस्त देखियो ।’

विष्टले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ रुपैयाँ छ । बित्थडचिरको आनन्दपुरमा १५, मुस्याखान बैतडीमा १०, खोड्पे बैतडीमा १४, अनार खोली डडेलधुरामा १५, धनगढीको दुवै हाटबजारमा ७०, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रुपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो ।’

व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले १३० देखि १४० मा खरिद गरेको बताए । सिजनअनुसार नै बन्दाको मूल्य यस पटक बढेको उनको भनाइ थियो । ‘कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो, यस पटक भने निकै बढेको छ, कृषकले नै बढी लिएको, ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन्, हामीले पनि १०÷१२ रुपैयाँ त नाफा खानु पर्यो ।’ व्यापारी जिसीले भने ।

अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य १०० रुपैयाँको आसपास छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ । कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको छ । रासस

प्रतिक्रिया