उज्यालोको उत्सव : दुई अर्बभन्दा बढीको बजार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रमझम सुरु भएको छ । काठमाडौंसहित देशभरका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ । तिहारमा प्रयोग गरिने टीका, फूलमाला, मरमसला, खानेकुरालगायतका सामग्री किन्न सर्वसाधारणको घुइँचो बढेको हो । तिहारलाई दीपावली तथा यमपञ्चक पनि भनिन्छ । सुखरात्रि, दाजुभाइ–दिदीबहिनीबीच स्नेह बढाउने पर्व, बत्तीको पर्व, मिठाईको पर्व, देउसी–भैलोको पर्वजस्ता तिहारका अन्य थुप्रै उपनाम पनि रहेका छन् । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धनको पूजा गरिन्छ । धन, सम्पत्ति र गरगहनाको पनि पूजा गरिन्छ ।

यो वर्ष कात्तिक १० गते बिहीबार भाइटीका परेको छ । खासगरी तिहार भन्नैबित्तिकै उज्यालोको पर्व भन्ने सम्झन्छौँ । घर र पसललाई सरसफाइ गरी सफासुग्घर बनाएर मनाइने यो पर्वलाई सरसफाइको पर्व पनि भनिन्छ । हिन्दू संस्कृतिअनुसार, यतिबेला देशभर उज्यालोको पर्व ‘तिहार’ मनाइँदै छ । घर र पसलमा लक्ष्मीको बास होस् र वर्षभरी आम्दानीको स्रोत राम्रो रहोस् भनि मनाइने यो पर्वको अवधिमा मात्रै करिब दुई अर्ब रुपैयाँको हाराहारीमा बजार चलायमान हुन्छ । रंगीचंगी झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, भाइमसला, फल, पटाखा, झिरझिरे लगायततर्फ तिहारको अवधिमा झण्डै दुई अर्ब रुपैयाँको कारोबार हुने गरेको छ ।

प्लास्टिकका माला, विभिन्न रंग, पालालगायतको हिसाब गर्दा अनौपचारिक रूपमा अझै बढी मूल्य बराबरको कारोबार हुन्छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालीले पछिल्लो दुई वर्षको तिहार खल्लो रूपमा मनाएका थिए । यो वर्ष भने कोभिडको न्यून प्रभावका कारण उल्लासमय वातावरणमा तिहार मनाउने तयारी गरेका छन् ।

ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ अहिले पनि मट्टितेल, तोरीको तेल, डिजेलको प्रयोग गरी ससानो टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । यसैगरी मैनबत्ती बालेर पनि घरआँगन उज्यालो बनाइन्छ । बत्ती पुगेको सहर बजारमा भने विभिन्न प्रकारको विद्युतीय बत्तीकै महत्व हुन्छ । प्रत्येक घर, कार्यालय, महल, पसल, बगैँचा, होटेल, रेस्टुराँलगायतमा विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएर अँध्यारो रातलाई रंगीचंगी बनाइएको हुन्छ । यो वर्ष बैंकिङ तरलता र डलरको अभावका कारण भने झिलिमिली बत्तीको बजार थोरबहुत साँघुरिएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रमेश देवकोटाका अनुसार, यो वर्ष नेपाली बजारमा १५ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको आकर्षक झिलिमिली बत्ती आयात भएको छ । चीनबाट ल्याउन बाटोको असहजता, वैदेशिक मुद्रा अभाव र बैंकिङ क्षेत्रको कडाइका कारण यो वर्ष निकै कम परिमाणमा यस्तो बत्ती आयात भएको देवकोटाले जानकारी दिए । उनका अनुसार, यो वर्ष अन्तर्राष्ट्रिय बजारमै झिलिमिली बत्ती बनाउने कच्चा पदार्थ प्लास्टिक, कपर, पेट्रोलियम पदार्थ लगायतको मूल्य अस्वभाविक रूपमा बढेकाले लागत खर्च पनि अत्यधिक बढेर आएको व्यवसायीहरू बताउँछन् ।

महासंघका अनुसार, गत वर्षको तिहारमा ३५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको थियो । त्यसअघिको वर्ष तिहारमा ५० करोड रुपैयाँको बत्ती आयात भएको थियो । ०७६ सालको तिहारताका भने करिब ७० करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएर बजारीकरण भएको थियो । ०७५ सालमा करिब एक अर्ब रुपैयाँको झिलिमिली बत्ती आयात भएको थियो ।

‘यो वर्ष हामीले निकै कम परिमाणमा झिलिमिली बत्ती आयात गरेका छौँ’, देवकोटाले भने, ‘बजारमा पनि खासै माग छैन । अर्कोतर्फ वैदेशिक मुद्राको अभाव र अस्थिर बैंकिङ नीतिका कारण ठूलो परिमाणमा सामान भित्राउन सकेनौँ ।’ सर्वसाधारणको क्रयशक्ति पनि कमजोर देखिएकाले यो वर्ष बजार निकै सुस्त भएको उनको भनाइ छ । उनका अनुसार, कोभिड–१९ अघिको वर्ष यो बेला झिलिमिली बत्तीको लागि खुद्रा व्यापारी र डिलरबाट अर्डरको ठूलो चाप हुन्थ्यो ।

‘अन्तर्राष्ट्रिय बजारमा यस्ता बत्ती बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्यमा वृद्धि र इन्धनमा भएको मूल्यवृद्धिका कारण ढुवानी खर्च बढ्दा यो वर्ष त्यति ठूलो परिमाणमा झिलिमिली बत्ती आयात हुन सकेन’, देवकोटाले भने, ‘यसले गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष यस्ता झिलिमिली बत्तीको मूल्य २० प्रतिशतले महँगो पनि भएको छ ।’

प्रत्येक झिलिमिली बत्तीमा ५० देखि ७५ रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । तिहारमा बालिने यस्ता झिलिमिली बत्ती छिमेकी मुलुक भारत, चीनसहित केही अन्य मुलुकबाट आयात हुन्छ । त्यसमध्ये पनि चीनबाट करिब ८० प्रतिशत, भारतबाट १५÷१६ प्रतिशत र बाँकी अन्य मुलुकबाट आयात हुन्छ ।

२५ हजारसम्मको झिलिमिली बत्ती

यो वर्ष बजारमा न्यूनतम १ सय ७५ रुपैयाँ देखि २५ हजार रुपैयाँसम्मको झिलिमिली बत्ती उपलब्ध छन् । यसबाहेक देवी÷देउताको फोटोमा जडित झिलिमिली बत्तीको व्यापार पनि यो बेला अत्यधिक हुन्छ । उपभोक्ताले बत्तीको आकार प्रकार, बत्तीको उज्यालोको अवस्था र टिकाउपनको आधारमा रोजेर खरिद गर्न सकिन्छ ।

महासंघका अनुसार, नेपालमा करिब चार हजार व्यवसायीले विद्युतीय झिलिमिली बत्तीको व्यापार गर्दै आएका छन् । देशको संघीय राजधानी काठमाडौंमा भने कोटेश्वर, बानेश्वर, महाबौद्ध, असन, न्युरोडलगायतका स्थानमा यसको अत्यधिक व्यापार छ ।

अन्य समयभन्दा तिहारको समयमा एलइडी बत्ती, डिस्को बक्ती ६० लिड, सय लिड, माला बत्ती, घुम्ने बत्ती र झिलिमिली झालर, लहरे, रोप लाइट र पाइप लाइटको व्यापार झण्डै ८० प्रतिशतले वृद्धि हुने महासंघले जनाएको छ ।

त्यसमध्ये पनि तिहारको समयमा सबैभन्दा बढी झालर र लहरे बत्तीको प्रयोग सबैभन्दा बढी हुने गरेको बताइएको छ । ‘घरको अगाडिको भागलाई माथिदेखि तलसम्म छोप्ने गरी झालर बत्ती र लहरे बत्ती र रोप लाइटको अत्यधिक बिक्री हुन्छ’, पोख्रेलले भने ।

यस्ता झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झण्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, होटेल र रेस्टुँरा सजावटका लागि प्रयोग हुने गर्छ ।

एक अर्बको भाइ मसला

यो वर्ष तिहार र भाइटीकाका लागि भनेर करिब एक अर्ब रुपैयाँ बराबरको भाइमसलाको व्यापार हुने भएको छ । तिहारपछि सबैभन्दा महत्वपूर्ण पर्व भाइटीका भएकाले भाइमसला अत्यधिक बिक्री हुने व्यापारीहरूको भनाइ छ ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार अघिल्लो वर्षको तुलनामा भने यो वर्ष भाइमसलाको बजार केही परिमाणमा बढ्ने सम्भावना छ । ‘अघिल्लो दुई वर्ष कोभिडका कारण व्यापारमा कमी आएको थियो’, बज्राचार्यले भने, ‘यो वर्ष एक अर्ब रुपैयाँको व्यापार हुने हाम्रो प्रक्षेपण छ ।’

यो वर्ष भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी खर्च महँगो भएको र अन्तर्राष्ट्रिय बजारमै यस्ता बस्तुको मूल्य महँगो भएकाले गत वर्षको तुलनामा उपभोक्ता मूल्य केही बढी रहने उनको भनाइ छ ।

तिहार र भाइटीकाको समयमा किसमिस, काजु, बदाम, ओखर, पेस्ता, नरिबल, छोकडा, सुकुमेल लगायतको पनि अत्यधिक बिक्री हुने गरेको छ । यस्ता ड्राइफ्रुट र मसला भारतसहित विभिन्न खाडी राष्ट्रबाट आयात हुने गरेको छ ।

ग्रेडिङ र गुणस्तर हेरेर यो वर्ष बजारमा काजु १६ सयदेखि १८ सय रुपैयाँ प्रतिकिलोमा बजारीकरण भइरहेको छ । हाडे बदाम (आलमण्ड) लाई प्रतिकिलो १३ सय ५० देखि १४ सय रुपैयाँसम्म मूल्य तोकिएको छ । ओखरलाई ६ सय ५० देखि १८ सय र पेस्तालाई १८ सयदेखि २४ सय रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

यसैगरी नरिवललाई पाँच सय, मिश्री (धागे) लाई १६ सय, पान बुट्टे मिश्रीलाई १ सय ८०, मिश्री (कटिङ) १ सय ५०, मखनालाई एक हजार, अन्जिरलाई दुई हजार, दालचिनीलाई पाँच सय, सुकुमेललाई दुई हजार, ल्वाङलाई १४ सय, पहेँलो छोकडालाई १ सय ८०, कालो छोकडालाई १ सय ७० र सुपारीलाई ६ सय रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको संघले जनाएको छ ।

नरिबल, अलैँची, मखना, हाँडे ओखरलगायत केही बस्तु नेपालमा पनि उत्पादन हुन्छ । उपत्यकाको कालीमाटी, मैतीदेवी, पाटन, लगनखेल, असन, इन्द्रचोक, न्युरोड लगायतका स्थानमा यस्ता भाइमसला खरिद गर्नेको ठूलो भिड नै लाग्न थालेको व्यापारीहरूले बताएका छन् ।

२५ करोडको फलफूल

यो वर्षको तिहार र भाइटीकामा करिब २५ करोड रुपैयाँ मूल्यबराबरको केरा, स्याउसहित अन्य फलफूलको व्यापार हुने सम्बन्धित संघले जनाएको छ । यो वर्ष चीनबाट धेरै आयात नभएकाले स्याउको उपभोक्ता मूल्य केही महँगो भएको नेपाल फलफूल व्यवसायी थोक संघले जनाएको छ ।


संघका अध्यक्ष अमर बानियाँका अनुसार, अहिले बजारमा ८० प्रतिशत नवलपरासीस्थित त्रिवेणीको केराको बजारीकरण भइरहेको छ । यो केराको सय दानालाई पाँच सय र भारतीय सय दाना केरालाई नौ सय रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै चीनबाट आयात भएको फुजी स्याउलाई प्रतिकिलो ३ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी भारतीय स्याउलाई १ सय २५ देखि १ सय ७५ रुपैयाँ मूल्य तोकिएको छ । स्वदेशकै मुस्ताङको स्याउलाई १ सय ५० देखि १ सय ९० रुपैयाँ मूल्य तोकिएको छ । बाँनियाका अनुसार, स्वाद र गुणस्तरमा मुस्ताङको स्याउ उत्कृष्ट भएकाले स्वदेशी स्याउ नै उपभोग गर्दा उपयुक्त हुन्छ ।

साढे १३ करोडको पुष्प व्यापार

तिहार र भाइटीका सयपत्री, मखमली र गोदाबरी फूलविना अधुरो र अपुरो हुन्छ । यो पर्वमा यस्ता पुष्पको महत्व निकै बढी भएकाले व्यापार पनि उत्तिकै हुने गरेको व्यापारीको भनाइ छ । यो वर्ष साढे १३ करोड रुपैयाँको फूलको व्यापार हुने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले जनाएको छ । गत वर्ष तिहारमा साढे ११ करोड रुपैयाँको पुष्प व्यापार भएको थियो । फ्यानका अध्यक्ष मिनबहादुर तामाङका अनुसार, गत वर्षको तुलनामा यो वर्ष सयपत्री र मखमली फूलको मालाको माग अत्यधिक रहेको छ ।

यो वर्ष सयपत्रीबाट निर्मित २० लाख गोटा मालाको माग छ । यसैगरी मखमली फूलबाट निर्मित ४ लाख २५ हजार मालाको माग छ । त्यसमध्ये गोदाबरी र मखमलीको माग स्वदेशकै उत्पादनबाट पूर्ति हुने तामाङले बताए । सयपत्रीतर्फ भने स्वदेशको उत्पादनबाट १७ लाख गोटा माला तयार भए पनि अपुग हुने तीन लाख माला (डेढ करोड रुपैयाँ मूल्य बराबरको) भने भारतबाट आयात हुने उनको भनाई छ । फूलको अत्यधिक माग यमपञ्चकदेखि लक्ष्मीपूजासम्म हुन्छ । यो वर्षको तिहारका लागि सयपत्री फूलको प्रतिगोटा मालालाई ५५ र मखमली फूलको प्रतिगोटा मालालाई ४० रुपैयाँ मूल्य तोकिएको छ ।

मीठो मिठाईको नालीबेली

मिठाई पसलमा भिड छ । साहुजीलाई पैसा गन्नसम्म भ्याइनभ्याइ छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व हो । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैँ, तिहार, आमाको मुख हेर्ने दिन, दर खाने दिन, वैशाख १ गते पनि मिठाईको माग अचाक्ली बढ्छ । सामान्य दिनभन्दा यी दिनमा चार दोब्बर माग बढ्छ । तर, यतिकै लागि कामदार बढाउन नसकिने भएकाले व्यवसायीलाई पसलको व्यवस्थापन गर्न हम्मे पर्छ ।

मल्लकालमा भारत बैंगलोरको त्रिपुरासुन्दरीबाट मछिन्द्रनाथसँगै मिठाई बनाउने हलुवाई भित्रिएको इतिहास छ । तिनै हलुवाई कालान्तरमा राजकर्णिकारमा परिणत भए । राजकर्णिकारको रूपमा परिणत भएका हलुवाईबाट सुरुआत भएको मिठाई बनाउने र बिक्री गर्ने परम्परा अहिले पनि उपत्यकामा जीवितै छ । राजकर्णिकारले राजस्थानबाट थप कामदार भित्र्याई मिठाईको कारोबार सुरु गरेका थिए ।


अनिल राजकर्णिकारका अनुसार, मल्लकालीन समयमा दरबारमा दैनिक हुने पूजा आदि शुभकाममा राजकर्णिकारले तयार पारेको लाखमरी, ऐंठ, अनर्सा, मालपुवा, हलुवा, गुआरामारीलगायत ३२ प्रकारका मिठाई प्रयोग हुने चलन थियो । राजकर्णिकारले मरु टोल, पाटन, भक्तपुर, ललितपुरलगायत स्थानबाट नेपाली संस्कृति झल्कने मिठार्ईको कारोबार गरेको मानिन्छ ।

त्यसपछि भने राणाकालीन समय र शाहवंशीय समयमा पनि राजकर्णिकारकै मिठार्ई दरबारमा प्रयोग हुन्थ्यो । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रको समयमा पनि दरबारमा राजकर्णिकारले तयार पारेको स्वादिलो मिठार्ई पस्किने चलन थियो । नारायणहिटी दरबारमा राजकर्णिकारका लागि मिठार्ई तयार पार्ने स्थान नै छुट्याइएको थियो ।

समय परिवर्तनसँगै राजकर्णिकार परिवारकै खलकले पछि गएर थापाथलीमा राम भण्डार, श्याम भण्डार, टेकुमा काष्ठमण्डप भण्डारलगायत करिब एक दर्जनको हाराहारीमा मिठार्ई बनाउने काम गर्दै आएका छन् । ‘उहिले हामीले तयार पार्ने मिठार्ई मात्रै बजारदेखि दरबारसम्म खान पाइन्थ्यो’, अनिलराज भन्छन, ‘तर, यो दिन धेरै समयसम्म टिक्न सकेन । हाम्रो परिवारका धेरै सदस्य यो पेसाबाट पलायन मात्रै भएनन्, बिदेसिए पनि । त्यसपछि भारतबाट नेपाल आउने उच्च ओहोदाका व्यक्ति उतैबाट मिठार्ई बोकेर ल्याउन थाले । भारतीय मूलका कूटनीतिज्ञ, व्यापारी, कामदार घनत्व बढ्दै गएपछि विस्तारै भारतीय मिठार्ईको माग बढ्दै गयो । माग बढ्दै गएपछि भारतका प्रख्यात औद्योगिक घरानाबाट मिठार्ईको आयात हुन थालेको हो ।’

भारतीय मिठार्ईको तुलनामा नेपाली मिठार्ई गुणस्तरमा उच्च रहेको अनिल राजकर्णिकारको भनाइ छ । नेपाली मिठार्ई भन्ने बित्तिकै नाक खुम्च्याउने र आयातीत मिठार्ई भनेपछि मुख मिठ्याउने नेपालीको बानीका कारण नेपाली परम्परागत मिठार्ई विस्तारै बजार हिस्सा गुमाउँदै गएको उनको कथन छ । तर, पछिल्लो समयमा राजकर्णिकारले स्वदेशी मिठार्ईको स्तर सुधार गरेर ब्रान्डिङ गरी विदेशसमेत पठाउन थालेका छन् । उनी भन्छन, ‘राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन नदिएका कारण हाम्रो पुर्खौली पेसा विस्थापित हुने अवस्थामा छ ।’

भारतीय ब्रान्डको दबदबा

राजधानीमा परम्परागत मिठार्ई पसल खुम्चिँदै बन्द हुँदैछन्, भारतीय ब्रान्डका फ्रन्चाइजको विस्तार तीव्र गतिमा जारी छ । आँगन, रामेश्वर, गंगौर, गुलाबलगायत भारतमा चलेका ब्रान्डको आउटलेट खुलेको खुल्यै छन् । यस्ता ब्रान्डेड मिठार्ई सोरुमबाट जेरी अर्थात् जलेवी र जिल्फी, चकलेट बर्फी, पेडा, बेसनको लड्डु, मोतिचुड्को लड्डुु, सुजीको लड्डु, मुंगको लड्डु, नरिवल लड्डु, मसला लड्डु, केसरी पेडा, रसवरी, रसगुल्ला, लाल मोहन, गुलाव जामुन, क्रिम मिठार्ई, काजुको मिठार्ईलगायत छन् ।

यसैगरी कलाकन्द, काजुको बर्फी, कालो जामुन, दूध रबडी, दूधवरी, रसमलाई, गाँजरको हलुवा, मुम्बई बदामी हलुवा, सनपापडी, घेवर, काजु कमल, खोया बदाम, राजभोग, बालु शाही, चन्द्रकलालगायत मिठार्ई बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको स्वाद र छनोटअनुसार विभिन्न स्वाद र सुगर फ्री (चिनी नभएको) मिठार्ई पनि यस्ता प्रतिष्ठानबाट बजारमा उपलब्ध हुन थालेका छन् ।

विदेशी ब्रान्डसहित स्वदेशी व्यापारिक प्रतिष्ठान राम भण्डार, श्याम भण्डार, बागमती स्विट्स, अनमोल स्विट्ससहित केही प्रमुख डेरी उद्योगले पनि विभिन्न प्रकारका मिठार्ई उत्पादन गर्दै आएका छन् । नेपाल डेरी प्रालिले ‘एनडिएस’ ब्रान्डमा र नेपाल दुग्ध विकास संस्थान (डिडिसी) ले विभिन्न प्रकारका मिठार्ई उत्पादन गर्दै आएको छ । डिडिसीले भने अहिले थप चार हजार बट्टामा लालमोहन, सोही परिमाणमा रसबरी र तीन हजार बट्टामा पेडा उत्पादन गर्ने काम सुरु गरेको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार सामान्य दिनभन्दा चाडबाडमा २० देखि ४० प्रतिशतले मिठार्ईको माग बढ्छ ।

विचार गरी सेवन गरौँ

मिठार्ईलाई स्वास्थ्य, व्यायामअनुसार ठिक्क खाए स्वास्थ्यवद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ । देशमा प्रतिव्यक्ति प्रतिदिन शून्य दशमलव ५५ प्रतिशतको हाराहारीमा मिठार्ई उपभोग गर्दै आएका छन् । मिठार्ई नियमित रूपमा थोरै परिमाणमा खाँदा स्वास्थ्यका लागि फाइदा मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठूलो नोक्सानी गर्न सक्ने विज्ञहरू बताउँछन् ।

मिठार्ई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्ने विज्ञको सुझाव छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार मिठार्ई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुन्न् । मिठार्ई खाँदा शरीरले क्यालोरी ठूलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ ।

यस्तो अवस्थामा केही समयपछि विभिन्न प्रकारका खाना उपभोग गर्दा शरीरमा आवश्यकभन्दा थप परिमाणमा क्यालोरी थपिन्छ । ‘यसले गर्दा मोटोपना हुनसक्छ’, उनी भन्छन्, ‘मिठार्ईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ । यसले गर्दा क्यालोरी पनि उच्च परिमाणमा पाइन्छ । मोटोपना र सुगरको बिरामीले सकेसम्म मिठार्ईको प्रयोगबाट टाढै बस्नुपर्छ । खानै मन लाग्यो भने एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ ।’

मिठार्ईमा फाइबर पनि निकै कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रवल हुन्छ । मिठार्ई खाने बितिकै ग्लाइसेमिक इन्डेक्स (खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार) तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना त्यतिकै हुन्छ । बजारमा पाइने रंग प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठार्ईबाट पनि सकेसम्म टाढै बस्नुपर्ने कर्णको सुझाव छ । बालबालिकाले मिठार्ई सेवन गरिसकेपछि तत्कालै ब्रसले मुख धुनुपर्छ ।

भिडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठार्ई भिडाउने सम्भावना पनि त्यतिकै हुन्छ । यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठार्ई खरिद गर्नुपर्ने विज्ञहरूको सुझाव छ । नक्कली मिठार्ईको सेवनबाट ज्यान पनि जान सक्ने सम्भावना हुन्छ । गुणस्तरहीन नक्कली मिठार्ईको थोरै प्रयोगले पनि मानव स्वास्थ्यलाई दीर्घकालीन रोग लगाउने सम्भावना हुन्छ ।

तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठार्ई बनाएर बिक्री गर्ने अत्यधिक सम्भावना पनि हुन्छ । यसका साथै नक्कली घिउ र तेलमा तारेर अखाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठार्ईले पनि मानवस्वास्थ्यलाई दीर्घकालीन रूपमा ठूलो असर पु¥याउन सक्छ ।

यसैगरी नक्कली दूधबाट निर्मित खुवाको मिठार्ई पनि अस्वस्थ्यकर हुन सक्छ । वरिष्ठ खाद्य वैज्ञानिक डा.दिलीप सुब्बाका अनुसार, मिठार्ईलाई आकर्षक बनाउन प्रयोग हुने चाँदीको वर्क मानवस्वास्थ्यका लागि हानिकारक मानिन्छ । चाँदीको वर्क लागेको ( मिठार्ईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठार्ई सेवन गर्न नहुने उनको सुझाव छ ।

प्रतिक्रिया