सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता

सल्यान । सल्यानमा दुई जनाको उम्मेदवारी फिर्ता भएको छ । निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि दिइएको दुई जनाको उम्मेदवारी फिर्ता भएको हो ।

नेपाली कांग्रेसको तर्फबाट प्रदेश (क) बाट उम्मेदवारी दिएका एकराज डिसीले पार्टीको सिद्धान्त र नीति अनुरुप गठवन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको आग्रह एवं पार्टी केन्द्रको निर्देशन अनुसार आफूले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता गरेको डाँगीले जानकारी दिए ।

यस्तै स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका डिल्ली वुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । योसँग सल्यानमा १८ जना प्रतिस्पर्धीबीच मतदान हुने गरी अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

योसँगै प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, नेकपा एमालेका राजेन्द्र विर राय, नेकपा मालेबाट भिमवहादुर वली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेत्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पवनराज देवकोटा चुनाव लड्ने भएका छन् ।

यस्तै स्वतन्त्रबाट भने राजेन्द्र बहादुर शाह र जुद्धबहादुर सिंह पनि प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश (क) मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका भिमप्रकाश शर्मा, नेकपा एमालेका कुलबहादुर गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवबहादुर वली चुनावी मैदानमा रहेका छन् ।

प्रदेश (क) मा स्वतन्त्रबाट तुले सुनार र रेमश बुढाथोकीले उम्मेदवारी दिएको भएपनि वुढाथोकीले भने आफूले उम्मेदवारी फिर्ता नलिएको भएपनि चुनाव चिन्ह नलिने विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यता प्रदेश (ख) मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट गुलाबजंग शाहले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीबाट अशोक रेउले, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नारायण कुमार शर्मा, राष्ट्रिय जनमुक्ती पार्टीबाट डण्डविर पुन र स्वतन्त्रबाट निर्मल सिंहले उम्मेदवारी दिएका छन् ।

यद्यपि जिल्लाको प्रदेश (ख) मा कडा प्रतसिपर्धा हुने देखिएको छ । नेकपा एमालेकाको तर्फबाट सचेतक भइसकेका गुलावजंग शाहले यस अघि प्रदेश (क) बाट निर्वाचित भएका थिए । उनी अहिले प्रदेश (ख) बाट चुनाव लड्दै छन् भने सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया