समानुपातिक सूचीमा इमान्दार नेता कार्यकर्ता भएको कांग्रेसको दावी

काठमामडौं नेपाली काग्रेसले सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक तर्फको बन्दसूचीमा कर्मठ इमन्दार पार्टीका नेता तथा कार्यकर्ता समावेश गरिएको दावी गरेको छ। सो पार्टीको एउटा पक्ष शेखर कोइराला समूहले समानुपातिक सूचीमा असन्तुष्टि जनाई रहेको बेला कांग्रेसले यस्तो दावी गरेको हो। पार्टीका प्रववक्ता प्रकाशशरण महतले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रत्यक्ष तर्फको उम्मेदवारी पनि छिट्टै टुंग्याउने दावी गरेका छन् ।
‘ हामीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) अनुसार प्रतिनिधि सभाका लागि धारा ३२ को उपधारा ८ बमोजिम प्रतिनिधि सभा कार्य समितिबाट जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आएका नामहरु उपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको हो ’जारी बिज्ञप्तिमा उल्लेख छ।

सो पार्टीको बिज्ञप्तिमा भनिएको छ –

नेपालीहरुको महान चाड बडा दशै २०७९ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण बुवा आमा, दाजुभाइ दिदी बहिनीहरु सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस बर्ष हामी दशै, तिहार, छठ जस्ता चाडपर्वसंगै लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको महायज्ञमा सरिक भैरहेका छौ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार मतदाता नामावली सार्वजनिक गर्ने, निर्वाचनका लागि दल दर्ता गर्ने र प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन पद्धतिका लागि हुने निर्वाचनको तयारीका लागि बन्द सूची पेश गर्ने कार्य सम्पन्न भैसकेका छन् ।
नेपाली कांग्रेसले मंसिर ४ गतेको निर्वाचनको लागि दल दर्ता गराउने, निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेश सभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्द सूची पेश गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिने छ ।
१) समानुपातिक तर्फको बन्दसूचीका सम्बन्धमा
नेपाली कांग्रेसले निर्वाचन आयोगले निर्धारण गरेको समयभित्रै असोज ३ गते आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेश गरेको छ । हामीले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) अनुसार प्रतिनिधि सभाका लागि धारा ३२ को उपधारा ८ बमोजिम प्रतिनिधि सभा कार्य समितिबाट जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आएका नामहरु उपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको हो । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारहरुको टुंगो लगाउदा पार्टीका पदाकिारीहरुबीच घनिभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ ।
जिल्लाका सम्बन्धित निकायबाट पार्टीको उम्मेद्वार सिफारिसमा परेर राजधानीमा आउनुभएका नेपाली कांग्रेसका इमान्दार, अनुशासित, कर्मठ साथीहरुमध्ये अधिकांश साथीहरु यही यथार्थलाई आत्मसात गर्दै पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउने संकल्प बोकेर जिल्ला फर्किसक्नु भएको छ । विजया दशमीको नवरात्र आरम्भ भैसकेकोले साथीहरुलाई आ–आफ्नो गृह जिल्ला पुगी बडादशै हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ ।
२) प्रत्यक्ष तर्फ
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरुसंग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको छ । सिट बाँडफाँड सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने छ ।
३) घोषणा–पत्र तयार हुँदै
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि घोषणापत्र तयार समिति गठन गरेको छ । समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्यूआर कोड, म्यासेन्जर, इमेल,ट्वीटर,इमो जस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणा पत्रमा सुझाव मागिरहेको छ । घोषणापत्र बनाउने काम सुरु भइसकेको छ ।

४) निर्वाचन आचार संहिता
निर्वाचन आयोगले यसपटक जारी गरेको आचार संहिता अब्यबहारिक भएको गुनासो सर्वत्र व्याप्त छ । गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकोले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यवहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौ ।
५) नागरिकता विधेयक
संसदको दुवै सदनबाट दुईदुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ । राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ ।
अन्त्यमा, जिल्ला जिल्लाबाट राजधानीमा आउनुभएका नेपाली कांग्रेसका साथीहरुलाई विजया दशमीको शुभकामनासहित गृह जिल्लाको निर्वाचन क्षेत्रमा फर्केर आआफनो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन आग्रह गर्दछु ।
जसरी हामीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसलाई अधिक स्थानमा विजयी गराउन सक्यौ, त्यसरी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि अधिक स्थान हासिल गरी नेपाली कांग्रेसको नेतृत्वमा संघदेखि प्रदेशसम्म सरकार बनाउन सकिने अवस्था विद्यमान छ । संघ र प्रदेश सरकारका माध्यमबाट देशको आर्थिक सामाजिक विकासलाई गति दिने यो सुनौलो अवसरलाई यथार्थमा परिणत गर्न सबै साथीहरुलाई आआफ्ना क्षेत्रमा डटेर लोकतन्त्र र नेपाली कांग्रेसका पक्षमा जनमत बनाउन र अत्यधिक मतदान गराउने वातावरण तयार गर्न अनुरोध गर्दछु ।
जय नेपाल १

डा. प्रकाशशरण महत
प्रवक्ता
नेपाली कांग्रेस 

प्रतिक्रिया