‘सरकार कर्णालीका सडक पीच कहिले गर्ने ?’

मुगु । अविरल वर्षाका कारण मुगुका अधिकांश सडकहरू हिलाम्मे भएपछि सवारीसाधन र यात्रुहरूलाई आवागमनमा निकै सकस भएको छ ।

गमगढी–नाग्मा सडकअन्तर्गत घुच्ची भुलबुलेदेखि गमगढीसम्म सडक हिलाम्मे हुँदा जीप, बस, मालबाहक ट्रक, मोटरसाइकल चालक निकै सास्ती खेप्दै आउजाउ गर्न बाध्य भएका छन् ।

लगातारको वर्षाले घुच्ची गमगढी सडक हिलाम्मे भएको हो । सडक हिलाम्मे हुँदा गाडीमा हिलोमा फस्दा निकाल्न सास्ती हुने गरेको गाडी चालक समिर थापाले बताए ।

सडक हिलाम्मे भएपछि नेपालगञज, सुर्खेतदेखि गमगढी पुग्न ३ दिन लाग्ने गरेको उनको भनाई छ । घुच्ची ताल्चसम्मकाको सडकखण्ड फराकिलो बनाउन सडक डिभिजन कार्यालयले डोजर लगाएर खन्दा झन् हिलाम्मे भएको छ ।

गमगढी–नाग्मा सडक सञ्चालनमा आएको १० वर्षसम्म कालोपत्रे नहुँदा वर्षाको समयमा हिलाम्मे हुने गरेको छ । सुर्खेत–नेपालगञ्जबाट खाद्यान्न र विकास निर्माणका समग्री बोकेर आएका गाडी हिलोमा फस्ने गरेको र निकाल्नै धौधौ हुने गरेको चालकहरू बताउँछन् ।

सरकारले गमगढी–नाग्मा सडक खण्डको ९४ किलोमिटर लम्बाईमा कालोपत्रे नगर्दा झरीमा हिलाम्मे र घाममा धुलाम्मे हुने गरेको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए । सडक सञ्चालनमा आएको दश वर्षसम्म कालोपत्रे नहुँदा मुगुबासीलाई सास्ती खेप्नुपरेको उनको भनाई छ ।

सडक अनुगमन

नेपालीहरुको महान चाड बडादशैँ आउने दिन नजिकिएसँगै सडकको अवस्था बारेमा जिल्लाका सरोकारवाला निकायाले गमगढी घुच्ची भुलबुलेसम्मको सडक अनुगमन गरेका छन् ।

गत वर्ष दशैँ नजिक असोज २६ गते छायाँनाथ रारा नगरपालिका– ७ पिना तपने खोलामा बस दुर्घटनामा ३३ जनाको ज्यान गएसँगै यो वर्ष त्यस्तो नहुनको लागि जिल्लाका सरोकारवाला निकायाले सडक अनुगमन गरेका हुन् । गत वर्षले पाठ सिकाएको छ ।

त्यस्तो घटना नदोहोरियोस् भन्ने उदेश्यले गमगढीदेखि भुलबुलेसम्मको सडक अनुगमन गरिएको र सडको साँघुरो अप्ठ्यारो सडक तत्काल मर्मत गर्न सडक डिभिजनको ध्यानकर्याण गराउने उदेश्यले सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

२०६९ साल पुस १ गते मुगु सडक सञ्जालमा जोडिएको भए पनि हालसम्म सडकको स्तरोन्नती भएको छैन । लामो समय भइसक्दा पनि नाग्म–गमगढी सडकको न्यूनतम मापदण्ड ग्राभेल, पानीका नाला, ढल, कल्भड, व्यवस्थित नहुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएकाले सडक डिभिजनले सडक मर्मतमा ध्यान दिनुपर्ने देखिएको छायाँनाथ रारा नरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए ।

शुक्रबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख बिष्णु कुमार भाम, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरिक्षक सुवास हमाल, नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल नेपाल रेडक्रसका सभापति जयबहादुर मल्ल, प्रत्रकारलगायत जिल्लाका सरोकारवा निकायले गमगढी घुच्ची भुलबुले सडक अनुगमन गरेका छन् ।

प्रतिक्रिया