जनावरले बाली नष्ट गरेपछि किसान चिन्तित

सल्यान । जिल्लामा किसानहरूले लगाएको वर्षेबाली पाक्ने तरखरमा रहेको छ । तर त्यहि पाक्नै लागेको वर्षेबाली जंगली जनवारहरूले खाएर नष्ट गरेपछि किसाहरू चिन्तित हुन थालेका छन् । खेतबारीमा रहेको बालीनाली दिउसो बाँदर र रातभर बँदेल, दुम्सी, स्याल लगायतका जंगली जनवारहरूले बारी रित्याउन थालेपछि बाली जोगाउन किसानहरूको बास बारीमै हुन थालेको छ । दिनभर बारीका छेउमा बसेर टिन ठटाउँदै पहरा दिँदै आएका किसानले राती भने बारीमै टहरा बनाएर बस्ने गरेका छन् ।

मकै रोप्ने समयमा प्रयाप्त वर्षात नहुँदा ढिला गरेर मकै रोपेका किसान वन्यजन्तुले नष्ट गर्नथालेपछि चिन्तित भएका छन् । जिल्लाको कालिमाटी, कपुरकोट, कुमाख, निगालचुला, झिम्पे, लेखपोखरा लगायतका क्षेत्रमा किसानले लगाएको मकैबाली वन्यजन्तुले पूर्णरूपमा क्षति पु¥याउन थालेपछि मकै रोपेका बारीहरू खाली देखिन थालेको किसानहरूले जानकारी दिएका छन् ।

वन्यजन्तुकै कारण उत्पादन घट्न थालेपछि कतिपय बसाइँ सर्न थालेका छन् भने कतिपयले बारी बाँझै छोड्न थालेका छन् । जिल्लाको कुमाखगाउँपालिका–४ का किसान चित्रनाथ योगीले मकै बाली जोगाउन बारीमै टहरा बनाएको बताए । दिउँसोको समयमा बाँदर र रातको समयमा जंगली बँदेलले बारीमा लगाएको मकै नष्ट गर्न थालेपछि बारी छेउमै बनाइएको टहरामापहरा दिइरहेको उनको भनाइ छ ।

कालिमाटी गाउँपालिका–७ का पवित्रा पुन अनिँदो बस्नथालेको एक महिना बढी भइसकेको छ । मकैबाली जोगाउन बारीमा टहरा बनाएर रातभर जाग्राम बसे पनि मकै बाली जोगाउन नसकिएको उनको भनाइ छ । ‘दिउँसो बाँदर र राती बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ, बारीमा रोपेको मकै जंगली जनावरले नष्ट गरेपछि परिवार के ले पाल्ने भन्ने चिन्ता छ’, उनले भनिन् ।

उनले जंगलको बीचमा वस्ती हुँदा चारैतिरका वन्यजन्तुहरू आहारा खोज्दै बस्ती आउने गरेको बताइन् । ‘हाम्रो त यहाँको चारैतिर जंगल छ, रुख काट्न पाइँदैन, वन्यजन्तुको संख्या बढेसँगै बस्तीमा पस्न थालेका छन्, मकैसँगै सिमी, भटमास केही बाँकी राख्दैनन्’ उनले भनिन् ‘मकै रोपेदेखि भित्र्याउने बेलासम्म बारीमै डिउटी दिनुपर्छ ।’

कुमाखका किसान शिवबहादुर केसीले जंगलबाट बथानमा आउने बँदेल धपाउनै मुस्किल हुने गरेको बताए । ‘बँदेलले मकैबाली पूर्ण रूपमा नोक्सान गरिसकेको छ’, उनले भने ‘रातभर पहरा दिने गरे पनि जंगलबाट बथानमा आउने बँदेल धपाउनै मुस्किल हुने गरेको छ ।’ मकैको घोगा लाग्ने बेलादेखि नै जंगली बँदेलले नष्ट गर्न थालेको उनको भनाइ छ ।

‘बँदेल धपाउनका लागि रातमा पनि बारीमा बस्छौँ तैपनि रातको समयमा समूहमा बँदेल आउँछन् यता धपाउँदा उता जान्छन् उता धपाउँदा यता मकै सखापै पार्छन्’, उनले भने । ‘बथानमा आउने बँदेलले निकै सास्ती दिए, बथानमा आउने बँदेललाई एक्लै धपाउनै सकिँदैन्, मार्न पनि नपाइने भएकाले बँदेलको संख्यामा पनि वृद्धि भएकाले बाली जोगाउनै हम्मेहम्मे परेको छ ।’

जिल्लाको मुख्य खाद्यान्न बाली मकै हो । यस जिल्लाका अधिकांश क्षेत्रमा मकै रोप्ने गरिन्छ । जिल्लाभर बर्सेनि झण्डै १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको कृषि विकास कार्यालय सल्यानको भनाइ छ । यहाँका किसानले मनकामना–३, मनकामना–५, देउती, अरुण–२, अरुण–४, रामपुर कम्पोजिटलगायत जातको मकै खेतीगर्दै आएका छन् । जिल्लामा उत्पादित मकैमध्ये केही मकै जिल्लामा नै खपत हुन्छ भने बाँकी जिल्ला बाहिर निर्यात हुन्छ ।

प्रतिक्रिया