तीन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले तीन वटा विधेयक पारित गरेको छ । बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक–२०७९ र ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक—२०७८’ पारित गरेको हो ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले बहमुतले पारित गरेको हो । त्यसअघि विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्न र जिज्ञासाबारे मन्त्री यादवले जवाफ दिएका थिए ।

यसैगरी बैठकले अर्थमन्त्री जनार्दन शर्माले राखेको सार्वजनिक ऋण व्यवस्थापना विधेयक–२०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको जानकारी सभामुख अग्निप्रसाद सापकोटाले दिए । उक्त विधेयकमाथि पनि दफावार छलफल भएको थियो । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो ।

यसैगरी बैठकले ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक—२०७८’ पनि बहुमतले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन—२०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
मन्त्री बडूले नाप र तौल ऐन—२०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ मा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप गरेको बताए । उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री बडूले निरीक्षकले गल्ती गर्छन् भने पुनरावेदन गर्न प्रमुखमा पुग्नसक्ने र जिल्ला अदालतले गरेको निर्णयमा उच्च अदालतमा पुनरावेदनमा जान पाउने व्यवस्था थप गरिएको जानकारी दिए ।

नेपालभरि मेट्रिक प्रणालीलाई प्रयोगमा ल्याउने, आर्थिक गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा तथा नापतौलको आधारभूत इकाइको परिभाषामा अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास उक्त विधेयकका प्रमुख उद्देश्य रहेको उनले बताए । उनले नापतौलको यन्त्रलाई दुरुपयोग गर्ने वा कमजोरी गर्नेलाई कसुरको मात्रा हेरेर नयाँ किसिमले सजायको व्यवस्था गरिएको जानकारी पनि दिए ।

प्रतिक्रिया