युगल सहायक प्रशिक्षक र विनोद गोलरक्षक प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।
दशरथ रंगशालामा असोज ११ गते हुने बंगलादेशबीच मैत्रीपूर्ण खेलका लागि राईलाई सहायक र डंगोललाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिइएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । राईले गत वर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिएका थिए । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर समेत रहेका राईको प्रशिक्षणमा धनगढी एफसी गत वर्ष नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको थियो ।

मनाङ मस्र्याङ्दी क्लबका पूर्व गोलकिपर डंगोलले भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक रहेका थिए । राष्ट्रिय टोलीको प्रशिक्षणको औपचारिक मिति भने तय हुन बाँकी रहेको प्रवक्ता शाहले बताए । एन्फाको साउन २६ गते बसेको केन्द्रिय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईलाई कार्यवहाक प्रदीप हुमागाईंलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाल बाहिर रहेका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरेपनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।

सहायक प्रशिक्षक नियुक्त भएको सोमबार नै जानकारी पाएको उल्लेख गर्दै राईले भने,‘ पहिला राष्ट्रिय टोलीमा पर्नका लागि खेलाडीको रुपमा मिहिनत गरिन्थ्यो । अहिले काम गर्दै जाँदा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाएको छ । यसलाई अवसरको रुपमा लिएको छु । हुमागाई अनुभवी प्रशिक्षक हुनुहुन्छ उहाँसँग नि केहि सिक्ने मौका मिल्छ भन्ने आशा छ ।’

राईले धनगढीलाई प्रशिक्षण दिदा हुमागाईले भने एनएसएलमा ललितपुर सिटी एफसीको प्रशिक्षक थिए । उनको नेतृत्वमा टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेको थियो । यद्दपी उनले बर्खास्त अघि आफूले राजीनामा दिइसकेको दाबी गरेका थिए ।

झापा भद्रपुर घरमा रहेका राईले व्यक्तिगत कारणले केहि दिन ढिला राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने जानकारी एन्फालाई गराएको बताएका छन् । हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत समावेश रहेका छन् ।

प्रतिक्रिया