६० प्रतिशत उद्योग अझै पूर्ण उत्पादन क्षमतामा अक्षम

औद्योगिक प्रतिष्ठनमा ३ लाख ८१ हजार मात्रै कामदार

काठमाडौ । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ ले ६० दशमलव १ प्रतिशत उद्योग अझै पनि पूर्ण उत्पादन क्षमतामा संचालन हुन नसकेको बताएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ ले सो कुरा जनाएको हो । औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९ दशलमव ९४ प्रतिशतले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन । यो अवधिमा १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३४ उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

पूर्णक्षमतामा उद्योग संचालन हुन नसक्नुमा बजार वा मागको कमीका कारण, कच्चा पदार्थको अपर्याप्तता, स्रोतको कमी, सीपमूलक कामदारको अभाव लगायत मुख्य कारण रहेको पनि सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार औद्योगिक क्षेत्रका चार वटै औद्योगिक प्रतिष्ठानहरुमा रहेका तलबी कामदारको संख्या ३ लाख ८१ हजा ६ सय ८७ रहेको छ । ति मध्ये खानी तथा उत्खनन क्षेत्रमा ५ हजार ७ सय १९ जना, औद्योगिक उत्पादनशिल क्षेत्रमा ३ लाख ४६ हजार १ सय ४३ जना, विद्युत्, ग्यााँस, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २ सय ३८ जना र पानीको आपूर्ति,ढलनिकास,फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकापहरुको क्षेत्रमा १२ हजार ५ सय ८७ जना रहेका छन ।
त्यसैगरी औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठनहरु मध्ये करिव ७६ प्रतिशत उद्योग प्रतिष्ठन मात्रै बार्षिक २ सय ७० दिन सम्म संचालन भएको देखिएको छ ।

१९ प्रतिशत उद्योग प्रतिष्ठान १८० दिन देखी २६९ दिनसम्म, ४ प्रतिशत उद्योग प्रतिष्ठान ९० देखी १ सय ७९ दिन र बाँकीका उद्योग प्रतिष्ठान ९० दिन भन्दा कम संचालन भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा १ साउन २०७५ देखि २०७६ असार मसान्तसम्मको तथ्याकलाई समावेश गरिएको छ । सर्वेक्षणमा नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको विभागले जनाएको छ । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको पनि उल्लेख छ ।

राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्यबराबरको रकम लगानी गरेर करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । यस सर्वेक्षणमा सोही समूहका प्रतिष्ठानले करिब ६ खर्ब २५ अर्ब ७२ करोडबराबरको रकम लगानीका रूपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्व ५ करोड मूल्यबराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । २०६९ सालमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब ८० अर्ब ७८ करोडबराबरको मूल्य अभिवृद्धि गरेका थिए । यस सर्वेक्षणबाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँबराबरको मूल्य अभिवृद्धि गरेको पनि सर्वेक्षण देखाएको छ ।

प्रतिक्रिया