पुँजी वृद्धिको अवधि २ वर्ष थप्न धितोपत्र ब्रोकरको माग

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र व्यवसायीको कार्यक्षेत्र विस्तार तथा पुँजी वृद्धिको समयसीमा बढाउन नेपाल धितोपत्र बोर्डसमक्ष माग गरेको छ । एसोसिएसनले सोमबार सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई भेटेर धितोपत्र व्यवसायी नियमावली संशोधन गर्न माग गरेको हो । साथै नियमावलीमा गर्नुपर्ने संशोधनका बुँदासमेत बुझाएको छ ।

नियमावलीको हालको व्यवस्थाले बैंकका सहायक कम्पनीले गर्ने सेयर कारोबारमा द्विविधा उत्पन्न गराएको भन्दै त्यसलाई संशोधन गर्न माग गरेका छन् । नियावलीमा ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ । तर त्यस्ता कम्पनीले आफ्नो मुख्य कम्पनी वा मुख्य कम्पनीका अन्य सहायक कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था रहेको छ । यसलाई संशोधन गरी सेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था गर्न ब्रोकरहरूले माग गरेका छन् ।

यस्तै ब्रोकरहरूले चुक्ता पुँजी वृद्धिको अवधि २ वर्ष थप गर्न माग गरेका छन् । नियमावलीअनुसार ब्रोकर कम्पनीहरूले २०८२ असार मसान्तसम्म चुक्ता पुँजी २० करोड रुपैयाँ पु¥याउनुपर्छ । एसोसिएसनले त्यो अवधिमा पुँजी १० गुणा बढाउन सम्भव नहुने भन्दै २०८४ असार मसान्तसम्म समय थप्न माग गरेको हो ।

एसोसिएसनले तोकिएको पुँजीअनुसार ब्रोकर कम्पनीको कार्यक्षेत्र थोरै भएको तथा सेयर खरिद बिक्रीको कमिसनबाट मात्र व्यवसाय सञ्चालन कठिन देखिएको भन्दै कार्यक्षेत्र बढाउने गरी नियमावली संशोधन गर्न सेबोन अध्यक्ष श्रेष्ठको ध्यानाकर्षण गराएको छ । ब्रोकरहरूले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गत ग्राहक आदेशअनुसार धितोपत्र खरिद बिक्री गर्ने सेवा, केन्द्रीय निक्षेप सेवा अनुमति, राफसाफ सदस्यता अनुमति, प्रोप्राइटरी कारोबार अनुमति तथा मार्जिन कारोबारसम्बन्धी कार्य गर्न अनुमति तथा लगानी व्यवस्थापन लगायतका कामहरू गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

यस्तै पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाअन्तर्गत सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा अन्तर्गतका सबै कार्यहरूसहित, लगानी एडभाइजरी सेवा, बोर्डले तोकेबमोजिम योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउनुपर्ने जनाएका छन् । यसैगरी धितोपत्र दलाल सेवा सञ्चालन दलालले १ आर्थिक वर्ष पूरा भएपश्चात धितोपत्र दलाल कम्पनीको प्राथमिक सेयर निष्कासनका लागि अनुमति प्रदान गर्नुपर्ने माग छ । धितोपत्र दलालले आफ्नो सेयरधनी, कार्यकारी प्रमुख, कर्मचारी र निजहरूको एकाघर परिवारको सदस्यका नामबाट खरिद वा बिक्री गरिएको धितोपत्रको विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको ७ कार्य दिनभित्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया