काठमाडौँ । अर्थतन्त्रमा महत्वपूर्ण औजार मानिने विदेशी विनिमय सञ्चिति र विप्रेषण आप्रवाह (रेमिट्यान्स)ले नेपालमा रेर्कड कायम गरेको छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक हेर्दा नेपाली अर्थतन्त्रमा विदेशी विनिमय सञ्चिति र भित्रिएको रेमिट्यान्स हालसम्मकै सर्वाधिक हो । विदेशी विनिमय सञ्चिति बढ्नुमा मुख्य भूमिका रेमिट्यान्सको रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए । उनका अनुसार केही मात्रामा पर्यटन र न्यून मात्रामा निर्यातको पनि भूमिका छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार २०८२ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा २५.९ प्रतिशतले बढी हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २२.२ प्रतिशतले बढेको छ । त्यस्तै, ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षभन्दा १५.५ प्रतिशत बढी हो । यो जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
११ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १७.६ महिनाको वस्तु आयात तथा १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको हो ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत छ ।
रेमिट्यान्सले पनि राख्यो नयाँ रेर्कड
त्यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा रेमिट्यान्स १५.५ प्रतिशत बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको हो । जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको जेठ महिनामा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । ११ महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ ।
श्रम स्वीकृति लिने बढे
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० थियो ।
प्रतिक्रिया