काठमाडौँ । सरकारले लगानीको वातावरण बनाउन नसक्दा तथा विकास खर्च बढाउन नसक्दा अर्थतन्त्र नै ‘बिरामी’ अवस्थामा पुग्न थालेको छ । कर्मचारीलाई तलब खुवाउने रकम नहुँदा विकास बजेटबाट रकमान्तर गर्नुपर्ने अवस्थाबीच बैंकहरूमा लगानीयोग्य रकम थुपिँ्रदा राष्ट्र बैंकले हप्तामा २ पटक तरलता खिच्नुपरेको हो ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूमा करिब ६७ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप छ । यसमध्ये बैंकहरूले ५४ खर्ब ७१ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ । बैंकहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.३८ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरूसँग लगभग ६ खर्ब ३५ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।
पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्र खुइलिँदै गएको बताए । उनले भने, ‘अर्थतन्त्र खुइलिँदै गएको छ । किनकि करोड रकम कर्जा लिएर छोराछोरीको बिहे गराएका छन्, कसैले गाडी चढेका छन् । कर्जा सबै अनुत्पादक काममा खर्च हुँदा निष्क्रिय कर्जा पनि बढेको छ । सरकारसँग खर्च गर्ने रकम छैन ।’
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले हप्तामा २ पटकसम्म तरलता खिच्नुपर्ने अवस्था आउँदा अर्थतन्त्र बिरामी अवस्थामा रहेको पुष्टि हुने बताए । सौर्य दैनिकसँग कुरा गर्दै थापाले अर्थतन्त्रमा भयंकर समस्या आएको दाबी गरे । अर्थतन्त्रप्रति कसैको विश्वास नै नरहेको टिप्पणी गर्दै उनले भने, ‘लगानी गर्नुपर्ने, उद्यम बढाउनुपर्ने समयमा भएको पैसा फ्रिज गराउनु के राम्रो संकेत हो ? तीनै तहका सरकार तथा निजी क्षेत्रले पैसाको सदुपयोग गर्न नसक्दा पैसा नष्ट हुँदै छ ।’
सरकारले निजी क्षेत्रको लगानीका लागि आवश्यक वातावरण नबनाउनु, सरकार आफैँले लगानी नगर्नु आदि कारण यो समस्या आएको उनले बताए । ‘जलविद्युत् तथा पूर्वाधारमा लगानी गरेको भए यो पैसा सदुपयोग हुन्थ्यो, उनले भने । बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित सातामा २ पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । पछिल्लो १० महिनायता तरलता धेरै बढेको बताइन्छ ।
यसरी तानिएको पैसाको मृत्यु (फ्रिज) हुने थापाले बताए । उनले भने, ‘नेपालमा लगानीयोग्य रकम छैन भन्ने कुरा झुठ हो । तर, लगानी कहाँ गर्ने, कसलाई दिने भन्ने प्रयोजनचाहिँ सही हुनुप¥यो । जसका लागि सरकारले मिहीन ढंगले काम गर्नुपर्छ ।’
अर्थतन्त्र चलायमान हुन नसक्दा तथा कर्जा विस्तार हुन नसक्दा बैंकहरूमा तरलता बढेको बताउँदै पूर्वगर्भनर क्षेत्रीले यसरी राष्ट्र बैंकले तानेको पैसा कागजको खोस्टो जस्तै हुने हुँदा सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यदि सरकारले पुँजीगत खर्च बढाइदिएको भए यस्तो अवस्था आउने थिएन । विकासका काम हुँदा रोजगारी बढ्नेदेखि रकम चलायमान हुने, अर्थतन्त्र पनि चलायमान हुन्थ्यो ।’
कर्जा नबढ्दा र निष्क्रिय कर्जा अत्यधिक हुँदै तरलता बढेको क्षेत्रीले बताए । ठुला वाणिज्य बैंकहरूले सानो कर्जा नदिने, सहकारी शून्य अवस्थामा हुँदा सानो काम गरेर उद्यम गरौँ भन्ने भावनाका व्यक्तिहरू विदेश पलायन हुन थालेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि महिना दिनमै खर्ब रुपैया हाराहारीमा तरलता खिचिरहेको छ ।
तरलता अत्यधिक भएर ब्याजदर अत्यन्तै न्यून विन्दुमा नपुगोस् भनेर तरलता खिच्नु राष्ट्र बैंकको कर्तव्य नै भएको क्षेत्रीले बताए । उनले भने, ‘ब्याजदर तल्लो तहमा पुगिरहेको अवस्थामा छ, योभन्दा धेरै तल नजाओस्, आमबचतकर्तामा निराशा नछाओस् भनेर राष्ट्र बैंकले रकम खिच्ने (तान्ने) गरेको छ ।’
‘अलि समय पहिलासम्म धेरै सहकारीमा रकम छरिएर जान्थ्यो । लगानी गर्ने विभिन्न विकल्प हुन्थे । हाल सहकारी शून्यमा पुगेको छ, अन्य लगानी गर्ने विश्वासिलो ठाउँ पनि नहुँदा व्यक्तिले रकम जति सबै बैंकमा लगेर राख्ने अवस्था छ । त्यसकारण बैंकहरूमा रकम ह्वात्तै बढेको हो,’ उनले भने ।
ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटक–पटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रूपमा स्थायी निक्षेप सुविधा (एसडिएफ) तथा निक्षेप संकलन उपकरणमार्फत् तरलता व्यवस्थापन गर्दै आएको छ ।
अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमार्फत् केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् ।
स्थायी निक्षेप सुविधाको ब्याजदर भने ३ प्रतिशत निश्चित गरिएको छ भने निक्षेप संकलनको ब्याजदर भने बोलकबोलमार्फत् निर्धारण हुन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ ।
प्रतिक्रिया