घले यू–२० फुटबल टिमको व्यवस्थापक

काठमाडौं । दिवाकर घले गुरुङ यू–२० राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि महाबिर क्लबका अध्यक्ष रहेका घलेलाई टिम व्यवस्थापकमा नियुक्त गरिएको जनाएको छ ।

साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले जुलाई २५ मा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यसपछि नेपालले २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा भारत तथा २ अगस्टमा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ । सबै खेलहरु भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने छ । त्यस्तै बहराइनमा हुने एएफसी यू–२० छनोटमा समूह ‘बी’ मा रहेको नेपालले आयोजक बहराइनसँगै कतार, भुटान र बंगालादेशसँग खेल्नेछ ।

समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ । नेपालले १० सेप्टेम्वरमा भुटान, १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० छनोटका लागि प्रारम्भिक चरणमा ४० खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । टोलीको प्रशिक्षकमा मेघराज केसी रहेका छन् ।

प्रतिक्रिया