सगरमाथामा बढ्दो प्रदुषणको चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा बढ्दो प्रदुषणले चिन्ता थप्न थालेको छ । केही समय अघिमात्र सगरमाथा आरोहण गरेर फर्केकी डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. भुसालले सगरमाथाको प्रदुषण चिन्ताजनक रहेको बताइन् । नेपालको पहिलो महिला चिकित्सकको रूपमा डा. भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् ।


उनले १, २, ३ नम्बर शिविरको तुलनामा शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक रहेको बताइन् । कोभिड—१९ विरुद्घको लडाइमा अग्रपँतिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो ।
यसैगरी प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेकी हुँ’ उनले पत्रकार सम्मेलनमा भनिन् ।


पछिल्लोपटक फ्रान्स, स्विट्जरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उनले बताइन् । सगरमाथा आरोहणका क्रममा डा. भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए । अलग प्रसंगमा उनले डाक्टरी पेशा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताइन् । हाल ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. भुसालले उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीको सेवा गर्ने लक्ष्य रहेको पनि सुनाइन् ।


सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने उनको योजना छ । सगरमाथा चढिसकेको आरोहीले त्योभन्दा साना शिखर चढ्ने लक्ष्य ? भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘आठ हजार मिटरभन्दा अग्ला मनास्लुजस्ता हिमाल सबै आरोहीका लागि सधैं चुनौति हुन्, साथै ६ हजार मिटर अग्लो अमादब्लम प्राविधिक शिखर भएकाले मैले यी हिमाल चढ्ने लक्ष्य लिएकी हुँ ।’


आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर सञ्चालन गर्नसक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उनले बताइन् । हिमाल आरोहणमा रुची राख्ने तर, यस विषयमा कुनै जानकारी नभएका स्वदेशी तथा विदेशी पर्वतारोहीको सहयोगका लागि भुसाले साथीहरूसँग मिलेर हिमालयन सेपर्ड इको टुरिजम प्राइभेट लिमिटेड सञ्चालन गरिरहेकी छन् । सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटरभन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया