गणपुरक संख्या नपुगेपछि स्थगन

प्रतिनिधिसभा बैठक

काठमाडौं । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्न गणपुरक संख्या नपुगेकाले आइतबार आधा घन्टाका लागि प्रतिनिधिसभाको बैठक स्थगन भयो । राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक संख्याको प्रश्न उठाइएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् झपटबहादुर रावलले बैठकमा गणपूरक संख्या यकीन गर्न माग गरेपछि सभामुख सापकोटाले तीन मिटेनको घन्टी बजाएर संख्या यकीन गराउन लगाउँदा विधेयक स्वीकृत गर्न ७९ सांसद उपस्थिति हुनुपर्नेमा ६३ मात्रै उपस्थिति भएको पाइएकाले बैठक स्थगन भएको हो ।


आइतबारको बैठकमा सांसदहरूले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकको शून्य समयमा बोल्ने सांसदहरूले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक वञ्चित भएको भन्दै उनीहरूलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिए ।


सांसद इन्दुकुमारी शर्माले संसद्मा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट वञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


यसैगरी सांसद अमृता थापाले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसद्लाई चाँडो पूर्णता दिन माग गरिन् । उनले नेपालको संविधान ०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताइन् । प्रतिनिधिसभाको उपसभामुख पद ०७६ साल माघ ६ गतेदेखि रिक्त रहेको छ भने ०७८ साल फागुन २० गतेदेखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।

प्रतिक्रिया