‘हामीले विद्रोह गरेर देशलाई अस्थिर राजनीतिबाट जोगायौँ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट जोगाएको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ । यस कारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी गरे ।

कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन

साथै, अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिन नहुने बताएका छन् । बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए ।

उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन, कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन, जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन, त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’

अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा छ । हाम्रौ विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेकोे छ ।

कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकता बारे अब प्रश्न नउठ्ने पनि बताए । उनले कथित १० भाईले अझै पनि हामीलाई धारेहात लगाइरहेका छन् ।

उनीहरूको त्यो पार्टीमा कुनै हैसियत नभएको बताए । एउटा दासको जस्तो मात्रै रहेको बताए । त्यस्ता व्यक्ति अझै पनि हाम्रो बारेमा टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया