चार जनामा हैजा पुष्टि

सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ । चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि जानकारी दिए । बागबजारमा दुई तथा भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजाको जिवाणु भेटिएको जानकारी अधिकारीले दिए । उनले भने, ‘फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुनसक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो ।’

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप अनुसन्धान र लक्षण भएका हैजाका विरामीको खोजी भइरहेको जानकारी पनि दिए ।
वागबजारका दुई जना १८ र २३ वर्षीय युवतीमा असार ५ गते तथा भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा मंगलबार हैजा देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको हो भन्ने पत्ता लगाउन जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुयालले फोहोरको प्रकोप बढेर खानेपानी प्रदूषण भएका कारण हैजा देखिएको बताए । उनले वागबजारको पानीको तीन वटा नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी पनि दिए ।

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र टुवेलको पानीको नमुना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आपूmले शंका गरे पनि परीक्षणको नतिजा नआएसम्म केही भन्न नसकिने बताए ।

‘हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छाँै,’ अधिकारीले भने, ‘हामीले घरवरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौँ ।’
बागबजारका दुई जना युवतीले जार र धाराको पानी नउमालिकन खाने गरेको पाइएको उनले बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई उल्टी गर्नुका साथै पखाला लागको थियो । प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको पनि बताए ।

स्वास्थ्य कार्यालय काठमाडौंले चार जनामा हैजा देखिएपछि सतर्कता अपनाउन पनि आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिंगा भन्केको खानेकुरा नखान आग्रह गर्दै माइकिङसमेत सुरु गरेको उनले जानकारी दिए ।

यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाले पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटाइएको उनले बताए । कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी वोक्ने ट्यांक्टर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन अनुरोध गरेको छ ।

प्रतिक्रिया