गाउँमै उपचार सेवा पाउँदा वृद्धवुद्धा खुसी

बारा । कलैया उपमहानगरपालिका–१६ विद्यानगरकी ५० वर्षिया सोनादेवी कोइरिन शनिबार पहिलोपटक गाउँमै आँखा परीक्षण गराउन पाउँदा कम्ती खुसी थिइनन् । उनलाई सानो अक्षर चिन्न निकै समस्या थियो । तर, उनले घरपरिवारमा आफ्नो आँखाको समस्या भन्न नसक्दा उपचार पाउन सकेको थिइनन् । आर्थिक अभावका कारण सहरको अस्पतालमा पुग्न नपाएकी सोनालाई गाउँमा आयोजना भएको स्वाथ्य शिविर वरदान नै सावित भएको छ ।
आफ्ना श्रीमान, छोराबुहारीलाई खुलेर आँखाको समस्या भन्न नसकेकी सोनी गाउँमै आएको चिकित्सक टोलीसँग खुलेर आफ्नो समस्या राखेको उनले सुनाइन् ।

‘समस्या बताउँदा चिकित्सकले अक्षर देखाएर आखाँको दृष्टी परीक्षण गर्नुभयो’, उनले भनिन, ‘यहाका डाक्टरनी नानीले मेरो सबै समस्या ध्यान दिएर सुनिन् ।’ समस्या सुनेपछि उनी केही टेस्ट गरेर चस्मा लगाउन सल्लाह दिएको उनले बताइन् । सानो अक्षर पहिला धमिलो देखिन्थ्यो तर डाक्टरनी नानीले आँखामा लगाएको चस्माले सबै अक्षर प्रष्ट देखिन थालेपछि आफूलाई धेरै खुसी लागेको उनले बताइन् । चस्माको सहाराले अब सबैथोक देख्न चिन्न पाएको उनले आफ्नो अनुभव सुनाइन् ।

उनीजस्तै गाउँका ९४ जनाभन्दा बढीले यसरी गाउँमै आँखा परीक्षण गराएर दृष्टी समस्यालाई समाधान गराएका छन् । उनीहरू पनि गाउमै उपचार गराउन पाउँदा धेरै खुसी थिए ।

सहरमा चर्को रकम र दिनभरीको समय खर्चेर उपचार गराउन सबैका लागि सम्भव थिएन तर यहाँ हामी सबैले सहजै निःशुल्क रूपमा उपचार पाएको अर्की स्थानीय ७० वर्षीया राधादेवी महतोले बताइन् ।

गाउँमै उपचार गराउन अवसर जुटाइदिने आयोजक संस्था तथा सहयोगी निकाय, चिकित्सक सबैलाई उपचार गराउन आएका वृद्धवृद्धाले धन्यवादसमेत दिए । गाउँका अधिकांश परिवारको आर्थिक अवस्था जर्जर भएको र उनीहरू सहरमा उपचार गराउनसक्ने अवस्था नदेखिएपछि शिविरको आयोजना गरिएको विद्या मन्दिर जोगिन्द्र साह आधारभूत विद्यालय विद्यानगरका प्रधानाध्यापक अशोककुमार पाण्डेले जानकारी दिए ।

‘शिविरमा उपचार गराउने वृद्धवृद्धा मात्र होइन, हामी पनि धेरै खुसी छौँ’, उनले भने, ‘विद्यालयले गाउँका वृद्धवृद्धाको सेवा गर्न त पायो ।’ शिविरको आयोजना गरेर आफूहरूले समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकताका साथ निभाएको उनले बताए ।

कलैया उपमहानगरपालिका–१६ मै सबैभन्दा कमजोर र विपन्न वर्गको बाहुल्यता रहेकै कारण विद्यानगर टोललाई प्राथमिकतामा राखेर स्वास्थ्य शिविरका लागि आर्थिक सहयोग गरिएको वडाध्यक्ष शेषनाथप्रसाद साह तेलीले जानकारी दिए ।

‘दैनिक ज्याला मजदुरी गरी दैनिकी चलाउने परिवारको संख्या यो टोलमा बढी छ’, उनले भने, ‘टोलवासीको समस्या वडा सदस्यले बारम्बार दोहो¥याएपछि यहाँ शिविर गर्नुपरेको हो ।’ शिविरबाट गाउँका सबैले फाइदा उठाएको उनले बताए ।

गाउँमा शिविरको आयोजना गरेर गरिब विपन्नको भलो भएको वडा सदस्य हरिनारायण कुशवाहाले बताए ।
सदेव क्लिनिकको प्राविधिक सहयोग तथा कलैया उपमहानगरपालिका–१६ को आर्थिक सहयोगमा विद्या मन्दिर जोगिन्द्र साह आधारभूत विद्यालय विद्यानगरले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा ५ सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनय कुशवाहाले जानकारी दिए ।

शिविरमा सदेव क्लिनिका चिकित्सक डा. अनुपम उपाध्याय, डा.अन्जली पाण्डे, डा.रोवा पटेल, चिकित्सकहरू आदित्य तिवारी, वेदप्रकाश ठाकुर, राजन भगत, रजनी साह, साहिल अन्सारीलगायत १५ जना स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्न शिविरमा खटिएका थिए ।

प्रतिक्रिया