प्रत्यक्ष दोहोरीमा दश कक्षाकी कृतिकाको धमाका (भिडियाे)

काठमाडौं । कक्षा १० मा अध्ययनरत छात्रा कृतिका अधिकारीले प्रत्यक्ष दोहोरीमा गीत गाएर धमाका मच्चाएकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ मा रहेको श्री महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा अधिकारीले केही दिनअघि गायक टेकेन्द्र बोहोरासँग ‘कहाँ गयौ भँगेरी चरी’ बोलको गीतमा दोहोरी गाएर धेरै दर्शक स्रोतालाई नचाएकी हुन् ।

उनी स्याङ्जाको हरिनाश गाउँपालिका– ३ नविासी भए पनि तनहुँ शुक्लागण्डकीको श्री महेन्द्र माध्यामिक विद्यालयमा अध्यनरत छन् । छात्रा कृतिकालाई नै अध्यापन गराउँदै आएका शिक्षक रामजी शर्माको विशेष पहलमा काठमाडौंदेखि गायक टेकेन्द्र बोहोरालाई तनहुँमा उपस्थित गराएर प्रत्यक्ष दोहोरी कार्यक्रम राखिएको थियो ।

आफैं शिक्षक भएको उक्त विद्यालयमा कृतिकाले पहिले–पहिले पनि उत्कृष्ट शब्दमा मिठो गीत गाउँदै आएको थाहा भएको र छात्रालाई सोध्दा प्रत्यक्ष दोहोरी गाउने अवसर पाए पछि नहट्ने जनाएपछि कार्यक्रमको विशेष पहल गरेको रामजी शर्माले जानकारी दिए । समाजसेवामा समेत सक्रिय शिक्षक शर्मा आफैं पनि कला क्षेत्र एवं दोहोरी गाउन अग्रसर छन् ।

आफैंले पढाउने विद्यालयलाई कला संस्कृतिको माध्यमले चिनाउन चाहेको उनले बताए । उनी विभिन्न संघ संस्थामा आवद्ध रहेर हरेक विपद् तथा बाढी पीडितहरुलाई सहयोग गर्दै पनि आएका छन् ।

विदेशका भण्डै आठवटा देशमा घुमेका शिक्षक शर्माले भने, ‘म आफैं पनि कला क्षेत्रलाई माया गर्ने भएकाले विद्यालयलाई कलाबाट प्रोत्शाहन गर्न इच्छा जाग्यो, छात्रा कृतिकाको पनि गायनमा राम्रो प्रतिभा भएकाले उनको भविष्यमा कलाकार बन्ने चाहनालाई प्रोत्साहन गरेको हुँ ।’

उनले उक्त दोहोरी कार्यक्रमको लागि सोही विद्यालयका अर्का शिक्षक चक्रबहादुर क्षेत्रीले सहजीकरण गरेको बताए । कार्यक्रममा विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, गायिका छात्राका अभिभावकलगायत स्थानीयको सहभागीता रहेको थियो । छात्रा कृतिकाले भविष्यमा आफू सफल गायिका बन्ने इच्छा जागेको बताइन् ।

‘स्याङ्जाबाट धेरै कलाकारहरु चर्चित छन्, उनीहरुको चर्चा देखेर मलाई पनि गायिका बन्ने चाहना छ’, कृतिकाले भनिन्, ‘गायनको सुरुवात यस्तै प्रत्यक्ष दोहोरीबाट हुने भएकाले मैले यसपटक गीतको सुरुवात गरेकी हुँ ।’ साथै, उनले आफ्नो लागि दोहोरी कार्यक्रमको विशेष पहल गरिदिएकोमा आभार व्यक्त गर्दै शिक्षक रामजी शर्मालाई धन्यवाद दिइन् ।

कृतिकाका बुवा–आमाले पनि छोरीको कलाकार बन्ने सपनालाई प्रोत्साहन गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । गायक टेकेन्द्र बोहोराले प्रत्यक्ष दोहोरीमा छात्रा कृतिकाको शब्द प्रहार गर्ने शैली राम्रो भएको बताए । ‘बैनीको शब्द प्रहार गर्ने शैली राम्रो छ, प्रत्यक्ष दोहोरीबाटै हो गायनमा अगाडि बढ्ने,’ उनले भने, अझै विस्तारै राम्रो हुँदै जान्छ ।’

कृतिकालाई विद्यालयका प्रधानाध्यापक विष्णु पोखरेलसहित सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट दोहोरी एको प्रतिक्रिया दिँदै आगामी दिनमा अझै सशक्त भएर अगाडि बढ्न शुभकामना दिएका थिए । उक्त प्रत्यक्ष दोहोरीको सप्तरंगी संसार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया