नेपाल ८ रनमा अल आउट

काठमाडौं । आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ । यो हारसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ महिला टि२० विश्वकप खेल्ने सपना कठिन बनेको छ ।
जितको लागि ९ रनको विजयी लक्ष्य पछ्याएको युएईले १.१ ओभरमा पूरा गर्यो । युएईकी थीर्थ सतिश ४ बलमा ४ रन र लवन्य केनी ४ बलमा ३ रनमा अविजित रहिन् । अनु कडायतले पहिलो ओभरको पाँचौं बल नो फ्यालेकी थिइन् ।

त्यसअघि मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको थियो । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन रन बनाइन् । ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १–१ रनमा आउट भए । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन् ।

अञ्जली विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, एलिसा कुमारी यादव, रञ्जु श्रेष्ठ र कृतिका मरासिनी शून्यमा आउट भएका छन् । युएईकी महिका गौरले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ५ विकेट लिइन् । इन्धुजा नन्दका कुमारले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएकी छिन् । सिमराले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू–१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ । नेपालले तेस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया