पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई खुला पत्र

डा. विवेध न्यौपाने

नेपाल मेडिकल एसोसियसन पनि कांग्रेसहरूको पेवा मात्र हो ? अहिलेसम्म यसका नीति तथा कार्यक्रमहरू सम्पूर्ण चिकित्सकहरूलाई सहयोगी भएका छन् ? यसको संस्थापक पुराना होलान्, सायद हामीलाई प्रजातन्त्र दिने श्रेय पनि कांग्रेसकै हो भन्नुहोला ? जहा पायो त्यहीँ भ्रातृसंगठन बनाउँदै हिँडेर कहाँ पुगिन्छ ? कहिल्यै सोच्नुभएको छ ? मुगलले भारत बनाएजस्तै विश्वका महत्वपूर्ण मानिसहरूले आ–आफ्नो देश बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् तर हजुरको पार्टी र हजुरले भने भ्रातृसंगठन मात्रै बनाएको देखिन्छ । त्यो पनि चिकित्सा क्षेत्रमा ?

माननीय गगन थापा हजुरलाई कसरी सम्बोधन गरौँ ? न त म कांग्रेसी कार्यकर्ता न म कम्युनिस्टको कार्यकर्ता । जय नेपाल नि भन्न सक्दिनँ लाल सलाम वा काम्रेड नि भन्न सक्दिनँ । एउटा सामान्य चिकित्सकको हैसियतले म यो पत्र लेख्दै छु । हजुरको व्यस्तताले होला सायद समय पाइएन, नत्र चियामा नै यो गफ गर्न सकिन्थ्यो ।

हजुर स्वास्थ्य मन्त्री हुँदा जुन कार्यक्रमहरू लिएर आउनुभयो जस्तै बिमा, शिक्षण हस्पिटलको सुधार जस्ता कामहरूले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा सम्झनलायक स्वास्थ्य मन्त्रीको दर्जा पाउनुभएको छ । अझै हजुर त युवा १ हजुरको भाषणका पछि लागेर हिँडेका हामी जस्ता युवा जनशक्तिले बिर्सेको छैन, हजुरका ढुंगा हानेका तस्बिरहरू । हजुरले बिर्से पनि अहिले पनि हरेक पत्रपत्रिकामा देखिन पाइन्छ त्यो तस्बिर । त्यतिबेला एमसिसीको जोस त पक्कै होइन होला ।

न द्वैष छ, न त छ राग, तर मेरो हजुरप्रति गम्भीर प्रश्न छ । नेपाली कांग्रेसको १३औं महाधिवेशन बेलाको हजुरको भाषण सुने, खुसी पनि लाग्यो अनि अलिकति हिनताबोध पनि भयो । हजुरको सोच पनि आफ्नो सार्थकता आफ्ना दुई छोरीहरूले नेपाली कांग्रेसलाई मान्दिए हुन्थ्यो भन्ने मात्र रैछ । गम्भीर चिन्ताको विषय के भने कि हजुर पनि हाम्रा पुराना नेताहरूले बोकाएको बोझ फेरि नेपाली जनतालाई बोकाउन चाहनुहुन्छ ? नयाँ सोच र नयाँ तौरतरिका कतै देख्न पाइँदैन । आफ्नो जिन्दगी सार्थक बनाउन हजुरसँग अनेक तरंग छन् र उपाय पनि होलान् तर हजुर आफ्नै पार्टी कांग्रेसको इतिहास हेर्नुहुन्छ भने मलाई त्यस्तो लाग्दैन । हजुर एकातिरबाट स्वाभिमान नेपालको कल्पना गर्नुहुन्छ तर आफ्नो पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै गर्दा भने सम्पूर्ण समाजलाई बेतुकका कटाक्ष गर्नहुन्छ ।

हजुरकै शब्द भनाइ मान्ने हो भने नेपालको संविधान सार्वभौम छ, नेपाली जनता सार्वभौम छन् । कसले दियो त यो सार्वभौमिकता ? हजुरले या हजुरको पार्टीले ? अर्कोतिर हेर्दा दुईपटक विघटन भएको संसद्मा तपाईं कोहीसँग ८० अर्ब, कोहीसँग ६० अर्ब माग्ने कुरा गर्नुहुन्छ । तीन÷चार महिनाअगाडि हजुरको एक अन्तर्वार्ता एमसिसी गलत हो, गलहत्याएर त्यसलाई नेपाल बाहिर पठाउने भन्ने थियो । त्यही कुरा संसद्मा आउँदामा तपाईंको जिब्रो नेपाली कांग्रेसको महामन्त्रीकोे लयमा गयो, जिब्रो फेरिएको जस्तो भान भयो । तपार्इंकै अर्को भाषण कोही अमेरिका पढ्छन कोही युके इत्यादि । त्यो त नितान्त पारिवारिक कुरा भएन र ? परिवारकै कुरा गर्ने हो भने त हजुरको पारिवारिक पृष्ठभूमिको कुरा पनि नियाल्न सकिन्छ नि । हजुर आफ्नो दुई सन्तानसँग खुसी हुन जति समय पाउँछु रमाउँछु भन्नुहुन्छ, आफ्नो परिवारको (श्रीमती) पेसाले चिकित्सक, पैसाको पनि अभाव नहुने होला, अनि फेरि प्रश्न गर्न मन लाग्छ ? कति छन् हजुर जस्ता भग्यमानी जसको श्रीमती डाक्टर होस्, काठमाडौंमा दुई सन्तानको हुर्काइ होस्, अनि आपूm खुल्ला किताब ?

यहि सन्दर्भमा मेरो पेसाको पनि प्रसंग जोड्छु । यो नेपाल मेडिकल एसोसियसन पनि कांग्रेसहरूको पेवा मात्र हो ? अहिलेसम्म यसका नीति तथा कार्यक्रमहरू सम्पूर्ण चिकित्सकहरूलाई सहयोगी भएका छन् ? यसको संस्थापक पुराना होलान्, सायद हामीलाई प्रजातन्त्र दिने श्रेय पनि कांग्रेसकै हो भन्नुहोला ? जहा पायो त्यहीँ भ्रातृसंगठन बनाउँदै हिँडेर कहाँ पुगिन्छ ? कहिल्यै सोच्नुभएको छ ? मुगलले भारत बनाएजस्तै विश्वका महत्वपूर्ण मानिसहरूले आ–आफ्नो देश बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् तर हजुरको पार्टी र हजुरले भने भ्रातृसंगठन मात्रै बनाएको देखिन्छ । त्यो पनि चिकित्सा क्षेत्रमा ?

म एउटा एमबिबिएस पास गरेर काम गरिरहेको एउटा सामान्य चिकित्सक । म आफ्नो पेसामा प्रतिवद्ध एक युवा । हजुरलाई एउटा प्रसंग सुनाउनु छ । एकदिन तथाकथित शिक्षित व्यक्ति मेरो ओपिडीमा जँचाउन आउनुभयो । जँचाउने क्रममा आफ्नो परिवारको कुरा राख्दै मलाई सुझाव दिनुभयो कि उहाँको एक छोरा र एक छोरी जो क्रमशः डाक्टर र सिस्टर छन् । उनीहरू हाल बेलायत र अमेरिकामा काम गर्दै सुखसयलको जीवन बिताउँदै छन् । मलाई पनि उतै गएर काम गर्न सुझाव दिएर जानुभयो । त्यति मात्रै होइन यो सँगै मेरो मासिक तलबको बारेमा सोध्नुभयो अनी खितितीती हाँस्नुभयो । मलाई हीनताबोध भयो ।

कठै नेपाली, तथाकथित शिक्षित व्यक्तिको सोच । हाम्रो राजनीतिक प्रणालीको दोष हो कि हाम्रो चिकित्सा संगठनको दोष वा हामी नेपालीहरूकै दोष ?
मेरो आफ्नै हजुरबुबा जो क्यान्सर पीडित हुनुहुन्थ्यो र म एउटा एमबिबिएस पास गरेको सामान्य चिकित्सक । उहाँलाई आफ्नै नातीभन्दा पनि विशिष्ट र विशेषज्ञ चिकित्सकमा भर थियो । अझ क्यान्सर विशेषज्ञमा बढी भर थियो । अनी मलाई हरेकपटक सोध्नुहुन्थ्यो, बाबु तिमी कहिले विशेषज्ञ डाक्टर बन्ने ? उहाँको स्वर्गारोहण पछि हरेक पल म सोच्छु, म पनि ६ वर्ष कडा श्रम मिहिनेत गरेर कति रात अनिँदो बिताएर पढेको एउटा एमबिबिएस पास मेडिकल अफिसर । अनी सोच्छु नेपालमा कति क्यान्सर अस्पातल रहेछन् त ?

गगन दाई हजुर पनि कहिले विशिस्ट नेता बन्ने ? कति आफ्नो चुनावी क्षेत्रको मात्रै नेता बन्नुहुन्छ दाइ ? यसको झझल्को त कोभिडको बेला देखिएको थियो नि दाइ । के हजुरहरू जस्तो नेताले जन्माएका संस्थाले युवा डाक्टरहरूसँग दस्तुुर लिएर राजनीति गर्ने ? ठूला ठूला सार्वजनिक पदमा नियुक्ति दिलाउने ? हजुर पनि त स्वास्थ्य मन्त्री भएको हो नि, अनुभव छ त ।

म त एक सामान्य चिकित्सक, तपार्इंको जति वाक कला नहोला तर मेरो सोच र जाँगरको सिमांकन तपाईं वा तपाईंको पार्टीले बनाएको संस्थाले मापन गर्न नसक्ला । अनि म जस्ता युुवाले गर्न पनि त्यसरी मापन गर्न दिनेवाला छैन । हजुरले दिएको भाषण कर्णप्रिय छन् यसमा दुई मत छैन । तर त्यसलाई वास्तविकतामा ल्याउन तपार्इंले पनि अझ मिहिनेत गर्नुपर्छ कि महोदय ? अन्त्यमा म हजुरलाई गलत मनसायले पत्र लेखेको होइन, एउटा भनाइ छ नि निदाएको व्यक्तिलाई ब्युँझाउन सकिन्छ तर निदाएको जस्तो गर्ने व्यक्तिलाई कहिले पनि ब्यँुझाउन सकिन्न । कृपया हजुर पनि दोस्रो पात्र नबनि दिनुहोेला । चिकित्साजस्तो क्षेत्रमा हजुरको नाममा राजनीति गर्नेहरूले हजुरको राजनीति सिध्याउन समय लाग्दैन ।
(डा. न्यौपाने ख्वपः अस्पताल भक्तपुरमा कार्यरत छन्)

प्रतिक्रिया