आइपिएल : दिल्लीको प्लेअफ सम्भावना कायमै

मुम्बई । अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मिचेल मार्शले ६२ बलमा ५ चौका र ७ छक्कासहित ८९ रनको योगदान दिए । डेविड वार्नर ४१ बलमा ५ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि वार्नर र मार्शले १ सय ४४ रनको शतकीय साझेदारीका साथ सहज जित दिलाएका थिए । ऋषभ पन्त ४ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए । त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्रन आश्विनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र २ छक्कासहित ४८ रनको योगदान दिए ।

यशस्वी जैसवाल १९, जस बटलर ७ र कप्तान सञ्जु स्यामसन ६ रनमा आउट भए । दिल्लीका मिचेल मार्शले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्किया र चेतन सकारियाले २–२ विकेट लिए । दिल्ली १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जितेको खण्डमा १६ अंक हुनेछ । नेटरनरेटमा उच्च रहेमा र अन्य टोलीको नजिता आफू अनुकुल आएमा अन्तिम चारमा रहेर प्लेअफ खेल्न सक्नेछ ।

दिल्लीले अव १६ मे मा पन्जाब र २१ मे मा मुम्बईसँग खेल्नेछ ।
राजस्थान भने १२ खेलमा ७ मा जित र ५ मा हार सहित तेस्रो स्थानमा छ । बाँकी दुई खेल जित्दा १८ अंकका साथ सोझैं प्लेअफमा पुग्नेछ । राजस्थानले १५ मे मा लखऊ सुपर जायन्ट्स र २० मे मा चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

प्रतिक्रिया