काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका बुधबार विहान एकाएक फोन आयो। नम्बर पाकिस्तानी नम्बरबाट थियो। फोनमा अपरिचित व्यक्तिले भने,‘ विमानस्थलमा बम राखिएको छ। दुई घण्टाको बीचमा सात वटा बम विष्फोट हुन्छ ।’ अपरिचित कल त्यसमाथि पनि नेपाल बाहिरको नम्बरबाट फोन आएपछि विमानस्थलका कर्मचारी सशंकित बने । उनीहरुले उक्त सन्देश आफ्ना मातहतमा जानकारी गराए । नेपाल प्रहरी हुँदै नेपाली सेनासम्म उक्त सन्देश फैलियो । उडान भर्न विमानस्थलमा पुगेका सेवाग्रहीबीच भागाभाग मच्चियो ।
विहान ९ः४० देखि ९ः५० को विचमा दुई पटक फोन आयो। सन्देश एउटै थियो। सात वटा बम बिष्फोट हुन्छ । लगत्तै सेनाको बम बिष्फोजल टोली विमानस्थल पुग्यो। विमानस्थलको आन्तरिक उडान कार्यालयका सबै कर्मचारी देखि विमान कुरेर बसिरहेका सेवाग्रहीलाई बाहिर निकालेर डिस्पोजल टोलीले सर्च सुरुगर्यो । तर, एक घण्टासम्मको प्रयासमा कुनै शंकास्पद बस्तु फेलापरेन। सेना र प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेका थिए। केही फेलापरेन । त्यसपछि ११ः१० मा विमानस्थल सूचारु भयो। जस्ले फोन गरेको थियो, सोही नम्बर प्रहरीले ट्रेस गर्दा पाकिस्तानी नम्बरबाट फोन आएको पुष्टी भयो । सञ्चारकर्मीहरुसँगको कुराकानीमा विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले कार्यालयको टेलिफोनमा ९ः४० देखि ९ः५० को बीचमा दुई पटक फोन गरेर बम राखेको सूचना दिएकोले अनुसन्धान गरेको तर कुनै पनि शंकास्पद बस्तु नभेटिएको जानकारी उनले दिए । उनले पाकिस्तानी नम्बरबाट आए पनि भ्रामक सूचना दिने व्यक्तिले नेपालीमा कुरा गरेकोे बताए ।
उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको बिशेष ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी विष्णु कुमार केसीले अत्याउने मनसायले कसैले फोन गरेको बताए। उनले भने, ‘सूचना जति गम्भीर थियो, तर घटनास्थलमा केही फेलापरेन । सेना लगायत सुरक्षा निकायको टोलीले संवेदनशील भएर सुरक्षा जाँच गर्दा केही फेलापरेन । कस्ले किन फोन गर्यो भन्ने विषयमा अनुसन्धान गर्दैछौं ।’
यसैबीच गृहमन्त्री बालकृष्ण खाडले विमानस्थलको अनुगमन गरेका थिए । उनले सुरक्षा निकायलाई निर्देशन दिंदै यात्रुलाई कुनैपनि किसिमको डरत्रास हुन नदिन र उडान सूचारु गर्न निर्देशन दिएका दिए। गृहमन्त्री खाडले कसैले तर्साउन वा आतंकित पार्न ‘होक्स कल’ गरेको हुनसक्छ। यसबारे सुरक्षा निकाय सर्तक छ। कस्ले फोन गरेको हाे, त्यसको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौं ।’
प्रतिक्रिया