नैरोबी (केन्या) । प्रेस काउन्सिलको अन्तराष्ट्रिय स्तरको मञ्चमा सामाजिक सञ्जाल र न्यू मिडियालाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ ।
अफ्रिकी मुलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।
नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरुै खालका प्रयासहरु भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताए ।
‘हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौँ, यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ, सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ’, वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपीसी) को बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो ।
उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखे । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रयोगकर्तालाई काउन्सिलको समन्वयमा विभिन्न कारवाही समेत हुदै गरेको जानकारी गराउँदै अध्यक्ष बस्नेतले अन्य देशको अनुभगबारे समेत मञ्चमा व्यापक छलफल हुनुपर्ने औल्याए ।
आचारसंहिताभित्र पत्रकारितालाई नराख्ने हो भने यो क्षेत्रप्रतिको विश्वास टुट्दै जाने र यसले सिंगो प्रेस जगत धरमराउने बस्नेतको धारणा थियो ।
प्रतिक्रिया