काठमाडौं । डोट्याली कवि लोकराज भट्टद्वारा लिखित पहिलो उपन्यास ‘छाइल’ बजारमा आएको छ । सुदूरपश्चिमको सांस्कृतिक जीवनशैलीलाई आधार बनाएर लेखिएको उक्त कृति सरल भाषामा लेखिएको छ । उपन्यासमा बाबु र छोराको सम्बन्धसँगै समग्र डोट्याली सभ्यतालाई चित्रण गरिएको छ । डोट्याली भाषामा ‘छाइल’ शब्दको अर्थ छायाँ हुन्छ ।
उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताको प्रतिबिम्बलाई उतार्ने कोशिस गरेको उपन्यासकार लोकराजले बताए । उनले कृतिमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उधिन्ने प्रयत्न गरिएको सुनाए । उपन्यासमा पिता र छोराबीचको सम्बन्धलाई सुन्दर तरिकाले केलइएको छ । उपन्यासमा जितुका बा निकै मायालु लाग्छन् । जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ । यसमा धेरै बाका जिन्दगीका नभनिएका आत्मीय पक्षलाई उधिनिएका छन् ।
‘छाइल’ मा सुदूरपशिचमको माटोको सुगन्ध भेटिन्छ । प्रकृति, संस्कृति, जनजीवन, रहनसहन, भेषभूषा लगायतका विविध पक्षलाई उतारिएको छ । यस्तै, कृतिमा डेउडाको सांस्कृतिक बिम्बलाई चित्रण गरिएको छ । उपन्यासका संवाद सूक्तिमय छन् । बुक्स हिमालयले प्रकाशन गरेको उपन्यासको मुल्य चार सय पचास रुपैयाँ मूल्य राखिएको छ ।
प्रतिक्रिया