काठमाडौं । एक दर्जन बढी कलाकारका कलाकृतिको प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । लायन्स क्लव अफ काठमाडौं फाइन आर्टस् नेपालको आयोजनामा भएको प्रदर्शनीमा संस्कृति, प्रकृति तथा सामाजिक जनजीवनसँग सम्बन्धित कलाकृति राखिएको छ ।
प्रदर्शनीमा क्लवका १३ जना सदस्य कलाकार, एक जना मूर्तिकार तथा १ जना वरिष्ठ कलाकारको सहभागिता रहेको क्लबकी कोषाध्यक्ष तथा प्रदर्शनीका संयोजक लक्ष्मी मास्केले बताइन् । प्रदर्शनीमा कलाकार महेश आचार्य, राजेश मानन्धर, किरण सिगुु, इन्द्र श्रेष्ठ, लक्ष्मी मास्के, सुरेम देशार, नगेन्द्रप्रसाद पौड्याल, रमेश कुँवर, दीपक कुँवर, सुष्मा श्रेष्ठ, ज्योति खड्का, जनक अधिकारी, चिरञ्जिवी भट्ट तथा मूर्तिकलातर्फ भुवन थापाको सहभागिता रहेको छ । प्रदर्शनीमा अतिथि कलाकारका रुपमा ललितकला क्याम्पसका पूर्वप्रमुख चित्रकार कृष्ण मानन्धरको सहभागिता रहेको छ ।
लायन्स क्लब इन्टरनेसनल नेपाल अन्तर्गतका अन्य छ वटा क्लवको विशेष सहयोग रहेको उक्त कला प्रदर्शनीमा अधिकांश कलाकृति प्रकृति, संस्कृति र दृश्यपरक कलाकृति रहेको सहभागी कलाकार दीपक कुँवरले बताए । प्रदर्शनीमा रमेश कुँवरले नेपालको पर्यावरण तथा नेपालका चराका चित्र रहेका छन् भने महेश आचार्यका चित्रमा नेपालका हिमाल, हिमाली ग्रामीण दृश्य तथा नेपालका मन्दिरको सुन्दर चित्रण गरिएको रहेको छ ।
त्यसैगरी ईन्द्र श्रेष्ठका चित्रमा सारंगी र संगीतको कलात्मक प्रस्तुति रहेको छ भने लक्ष्मी मास्केका चित्रमा श्रीकृष्ण र उनको वाहन मयुरको चित्रण गरिएको छ । प्रदर्शनीमा दीपक कुँवरले कुमारी, करुवा विषयका संस्कृति र दैनिक जीवनपरक चित्र राखिएको छ । कलाकार ज्योति खड्काले चित्र हिमाली दृश्य तथा संरचनात्मक प्रस्तुतिका रहेका छन । प्रदर्शनीमा किरण सिगुका केही फरक देखिने पूर्ण परिकल्पनापरक सामाजिक–राजनैतिक विषय सम्बन्धित रहेका छन् । राजेश मानन्धर, सुष्मा श्रेष्ठ, जनक अधिकारी, चिरञ्जिवी भट्टका सामाजिक, सांस्कृतिक तथा धार्मिक विषयका चित्र प्रदर्शनीमा राखिएको कलाकार दीपक कुँवरले बताए ।
कलाकार सुरेम देसार र नगेन्द्रप्रसाद पौड्यालका चित्र अमूर्त शैलीका रहेका छन् । यस्तै, मूर्तिकार भुवन थापाका भावपरक मूर्ति राखिएको छ । अग्रज चित्रकार कृष्ण मानन्धरका चित्र प्रकृति र अमूर्त अभिव्यञ्जनामय रहेका छन् । क्लबले आफ्नो स्थापनापछि गत वर्षसम्म एउटा अनलाइन ललितकला प्रदर्शनीको आयोजनाको कार्य सफलताका साथ सम्पन्न गरेको कुरा क्लवका द्धितीय अध्यक्ष किरण सिगुले जानकारी दिए । यस्तै, क्लवले केही महिना अघिमात्र बालकला कार्यशालासमेत सम्पन्न गरेको संयोजक लक्ष्मी मास्केले जनाइन् । क्लबका अध्यक्ष नगेन्द्रप्रसाद पौड्यालले नेपाली कलालाई आम जनसमक्ष लैजान प्रदर्शनी गरिएको बताए । उनले भने, ‘क्लबमार्फत नेपाली कला र संस्कृतिलाई जर्गेना गर्दै कलाकारको व्यक्तित्व विकासका लागि समेत प्रदर्शनीको आयोजना गरेका हौं ।’ प्रदर्शनी बिहीबारसम्म रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया