काठमाडौं । नेपाल–भारत साहित्य महोत्सवमा वरिष्ठ सस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । आगामी बैशाख १६ गतेदेखि १८ सम्ममा आयोजना गरिने दोस्रो संस्करणको महोत्सवमा अग्रज साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा.डा. गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश र डा. राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गरिने भएको छ ।
यसैगरी, अग्रज सर्जक हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्रा.डा. उषा ठाकुर, डा. बेन्जु शर्मा, प्राज्ञ उन्नती बोहरा शीला र पद्मावती सिहलाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । लेकालीका अनुसार भारतका साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल–भारत साहित्य महोत्सव प्रथम संस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई समेत सम्मानित गरिने भएको छ ।
नेपाल–भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले शताब्दी वाङ्मय पुरुष जोशीको शिघ्र स्वास्थ लाभको हार्दिक कामना पनि गरेको छ । नेपाल–भारत साहित्य महोत्सवले गत २०७८ फागुन १४ गते भारतको केरलाबाट आएका साहित्यकार डा. रतिका पंचारप्पोयिल कोट्टायि, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मानित गरिसकेको छ । सोही कार्यक्रममा भारतको दिल्लीबाट आएका साहित्यकार कमला सिंह र दिलदार देहलवीलाई पनि सम्मान गरेको थियो ।
प्रतिक्रिया