काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र श्रेष्ठ र नेपाल भलिबल संघको तर्फबाट उपाध्यक्ष निरोज मास्केले हस्ताक्षर गर्दै आदान– प्रदान गरे । सम्झौता अनुसार जनरल इन्स्योरेन्सले एनभिए क्लब लिगमा सहभागी १२ टोलीका सबै १ सय ४४ खेलाडी र ३६ प्रशिक्षक र व्यवस्थापक गरी १ सय ८० जनाको जनही ५ लाख रुपैयाका दरले जम्मा ९ करोड रुपैयाको बिमा हुनेछ । बिमाको प्रतियोगिता भरको लागि हुनेछ । बिमा विशेष गरि ग्राउन्डमा फोकस हुने तर २४ सै घन्टा कायम रहने जनाइएको छ ।
सम्झौतापछि संघका उपाध्यक्ष निरोज मास्केले यसपटकको एनभिएको लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापकको मात्रै बिमा गरिएको र अर्काे पटकदेखि रेफ्री अफिसियलको पनि बिमाको लागि तयारी गरिरहेको बताइन् । सम्झौता कार्यक्रममा जनरल इन्स्योरेन्सका बिनेश मास्के, विजया न्यौपाने र नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठ, संघका कार्यलय सचिव टेककुमार राजभण्डारीलगायतको उपस्थिति रहेको थियो ।
छैटौ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग–२०७८ आगमी वैशाख १८ देखि २४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा संचालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब ,हेल्प नेपाल क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब, ढोरपाटन स्पोर्टस क्लब गरि कुल ७ टोलीको सहभागीता रहनेछ ।
महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहनेछ । पुरुषतर्फको ७ टोली र महिलातर्फको ५ टोली क्लब च्याम्पियनसिपबाट छनोट भएको हो ।
प्रतिक्रिया