काठमाडौं । पेमा डोल्मा लामा अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्ष निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतका साथ विजयी भएकी हुन् । ४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले ६ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रिय सदस्य र महिला समिति संयोजक पनि हुन् । तीन उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षकी अर्की प्रत्यासी रमा भट्टराईले ७ मत प्राप्त गरिन् ।
सात सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । जसमा निर्वतमान अध्यक्ष विन्द्रा देवा, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलुकु, सरस्वती श्रेष्ठ, लिला माया थापा, चन्द्र भण्डारी र विना श्रेष्ठ रहेका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी नन्दकला थापाको सम्झनामा अधिवेशनमा एक मिनेट मौन धारण गरिएको थियो । सोमबार राती उनको निधन भएको थियो । असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फा सदस्य संस्थाहरुको निर्वाचन गरिएको थियो । ३ जिल्ला बाहेक सबै सदस्य सस्थाको निर्वाचन सम्पन्न भएको छ । स्थगित सुर्खेत, गोरखा र सिन्धुलीको भने निर्वाचन केहि दिनमा तोकिने एन्फाले जनाएको छ ।
प्रतिक्रिया