प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आएपछि प्रदेश–१ मा कृषिवाली तथा मत्स्य उत्पादन बढ्नुका साथै कृषकको जीवनस्तरमा सुधार आएको छ । परियोजना सञ्चालनमा आएपछि अनुदानका कारण कृषि यान्त्रीकरणतर्फ कृषकको आकर्षण बढ्नुका साथै धान, गहुँ, मकै, अलैँची अदुवा, दुग्ध सुपारीलगायत खाद्यान्न वालीको उत्पादनमा वृद्धि भएको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको चालु आर्थिकवर्षको प्रगति समीक्षा गोष्ठीमा सो कुराको जानकारी दिइएको हो ।

परियोजना कार्यान्वयन इकाइ प्रमुख रामवलम प्रसाद साहले परियोजनाका कारण प्रदेश–१ मा कृषि यान्त्रीकरणलाई जोड दिँदै नयाँ पोखरी विस्तार पुराना पोखरीको मर्मत संभार, कृषि भण्डार केन्द्रको स्थापना, कृषि प्रशोधन केन्द्र सञ्चालन, चक्लाबन्दी खेतीको विस्तार सिँचाइको सहज व्यवस्था, बंगुर वधशाला तथा अलँैची भट्टीको निर्माण तथा रोजगारीको अवसर सिर्जना भई कृषकको जीवनस्तरमा सुधार आएको बताए ।

परियोजनाको नौ महिनाको प्रगति विवरण पेस गर्नु हँुदै उनले परियोजनाले कृषि उत्पादनको सहज बजारीकरण, बिउस्रोत केन्द्रको स्थापना तथा उत्पादित वस्तुहरू ढुवानी गर्न अनुदानमा पिकअप भ्यान, धान काट्ने तथा धान दाउनी गर्ने मेसिन, पावर टिलर, सिँचाइका लागि बोरिङ तथा हाते ट्रयाक्टर लगायतका कृषि उपकरण उपलव्ध गराएको र परियोजनाको नौ महिनाको वित्तीय प्रगति सन्तोषजनक रहेको जानकारी दिए ।

०७३÷७४ मा सुरु भएको सो परियोजना ०८३ सम्म सञ्चालन हुनेछ । १० वर्षसम्म सञ्चालन हुने सो परियोजनाले कृषि तथा माछामासुमा आत्मनिर्भर बनाउने परियोजनाको दाबी छ । नेपाल सरकारले कृषि उत्पादन बढाउन परियोजनाअन्तर्गत किसानलाई समूहमा ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । परियोजनाका कारण माछा उत्पादन बढ्नुका साथै अदुवा तथा अलैँची लगायतका खाद्यान्न तथा तरकारीसमेत निर्यात बढेको परियोजनाले जनाएको छ ।

परियोजनाले तरकारी, माछा, धानलगायत १५ प्रकारका बालीलाई प्राथमिकतामा राखेर प्रदेश–१ मा जोन तथा सुपरजोन सञ्चालन गर्दै आएको छ । तरकारी तथा कृषि उपज बढाउनुका साथै उन्नत जातको पशुपालनका लागि जोन तथा सुपरजोनसँग आवद्ध किसानहरूका लागि परियोजनाले हरेक प्रकारको अनुदान दिँदै आएको छ । मोरङ जिल्लामा तरकारी, माछा तथा धान जोन सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा प्रदेश–१ का १० वटा जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुखहरूले आफनो कार्यालयको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश–१ कृषि मन्त्रालयका सचिव मेघराज तिम्सिनाले पर्याप्त बजेट र दक्ष जनशक्तिको अभावमा कृषि क्षेत्रले सोचेजस्तो फड्को मार्न नसकेको बताए । उनले युवाहरूलाई लक्षित गर्दै परियोजनाले कृषि उत्पादन वृद्धि गर्ने खालका योजना ल्याउनुपर्नेमा जोड दिए । सरकारले परियोजनामा ठूलो लगानी गरेकाले वित्तीय प्रगति अझ बढी हासिल हुनेगरी काम गर्न उनले आग्रह गरे ।

कार्यक्रममा परियोजना कार्यान्वयन इकाइ प्रमुख रामवलम प्रसाद साह, परियोजना व्यवस्थापन इकाई खुमलटारका वरिष्ठ कृषि प्रसार अधिकृत तीर्थराम श्रेष्ठ, प्रदेश–१ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मोरङका कार्यक्रम अधिकृत प्रतिक्षा श्रेष्ठले परियोजनाको कामको प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना तथा परियोजना इकाई मोरङ सामाजिक विकास विज्ञ सुन्दर झाले परियोजनाको महत्वमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया