म्याग्दीमा ७६८ जनाको उम्मेदवारी दर्ता

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा म्याग्दीका ६ वटै स्थानीय तहका विभिन्न पदमा ७६८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकाको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका कृष्णप्रसाद शर्माका अनुसार नगरप्रमुखमा ८, उपप्रमुखमा सात, वडाध्यक्षमा ३८, महिला वडा सदस्यमा ३१, दलित महिला सदस्यमा २९, खुल्ला वडा सदस्यमा ६६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

नगरप्रमुखमा नेपाली कांग्रेसबाट चिरञ्जीवी शर्मा, एमालेबाट सुरत केसी, माओवादी केन्द्रबाट धनलाल जैसी, एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा, राप्रपाबाट मीनाकुमारी शर्मा सापकोटा, मङ्गोल नेशनल अर्गनाइजेशनका नरबहादुर थापा र स्वतन्त्रबाट धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २३, खुल्ला वडा सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाको मनोनयन दर्ता भएको अन्नपूर्ण गाउँपालिकाका निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन । अन्नपूर्णमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट बलबहादुर तिलिजा पुन, नेकपा एमालेका भरतकुमार पुन, राप्रपाका तीर्थबहादुर खड्का र नेशनल मङ्गल अर्गनाइजेशनका रामबहादुर गर्वुजाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्नपूर्णले जानकारी दिएको छ ।

यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा विभिन्न २७ पदका लागि विभिन्न राजनीतिक दलहरुबाट गरी १०५ जनाको उम्मेदवारी दर्ता भएको छ । मङ्गला गाउँपालिकामा खटिनुभएका निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार अध्यक्षमा ६, उपाध्यक्षमा सात, वडाध्यक्षमा २० र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा एमालेबाट सतप्रसाद रोका, कांग्रेसबाट वीरेन्द्र बुढाथोकी, माओवादी केन्द्रबाट टेकबहादुर विक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मङ्गोल अर्गनाइजेशनका गिरु रोका र नेकपा एकीकृत समाजवादीका रुद्रबहादुर किसानले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्वाचित हुने ३७ पदका लागि ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।

अधिकृत खत्रीका अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट प्रेमप्रसाद पुन, नेकपा एमालेकी थमसरा पुन, नेकपा एकीकृत समाजवादीका बमबहादुर पाइजा, राप्रपाबाट होमबहादुर थापा र नेशनल मङ्गोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गरेका छन् । धवलागिरिमा कांग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्म नै तालमेल गरेको छन् ।

त्यसैगरी मालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मालिकाले जनाएको छ । मालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । मालिकामा अध्यक्षका लागि नेपाली कांग्रेसबाट श्रीप्रसाद रोका, नेकपा एमालेबाट बेगप्रसाद गर्बुजा, नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली र नेशनल मङ्गोल अर्गनाइजेशनबाट खमबहादुर रोकाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उता उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा विभिन्न ४२ पदका लागि १४१ जनाको उम्मेदवारी दर्ता भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित आठवटा वडाका वडाध्यक्ष र सदस्यसहित ४२ पदमा हुन लागेको निर्वाचनमा १४१ जनाको उम्मेदवारी दर्ता भएको रघुगङ्गाका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गाउँपालिका अध्यक्षमा पाँच र उपाध्यक्षमा चार जनाको मनोनयन परेको छ ।

अध्यक्षमा कांग्रेसबाट भवबहादुर भण्डारी, नेकपा एमालेबाट प्रेमबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट मीना विक, नेशनल मङ्गोल अर्गनाइजेशनबाट तुलप्रसाद गर्वुजा र स्वतन्त्र रुपमा सागर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । रासस

प्रतिक्रिया