गभर्नर अधिकारीको मुद्दा प्रधान र मोक्तानको संयुक्त इजलासमा

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सरकारविरुद्ध दायर गरेको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ । आफूमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय गैरकानुनी भन्दै अधिकारीले रिट दायर गरेका थिए । यही वैशाख ४ गते सर्वोच्च अदालतमा अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले वैशाख ६ गते जाँचबुझ समिति गठन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधान र मोक्तानको संयुक्त इजलासमा आज दुवै पक्षलाई डाकिएको छ । दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने निर्णय गर्नेछ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा पर्नेछन् । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ ।

प्रतिक्रिया