‘बढ्दो महँगी र थपिँदो आर्थिक बोझले नेपालीलाई जीवन गुजरा गर्न कठिन भयाे’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहने सबै नेपालीलाई सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा उनले जारी गरेको शुभकामना सन्देशमा भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनुपर्ने बताएका छन् । तर, चर्का नारा, गहकिला आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले नेपाली नागरिकहरूलाई शान्त र सन्तुष्ट पार्न नसकेको उनको भनाइ छ ।

‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहून् । कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई लिएर हामी सदैव चनाखो हुनुपर्दछ । यही भावनालाई आत्मसाथ गर्दै, नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौं तर आज नेपाल कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले देशको अर्थतन्त्र संकटबाट गुज्रिरहेकोबारे पनि चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ । नेपाली सबैको भलो होस् सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो । श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरून्,’ पूर्वराजा शाहले भनेका छन् ।

प्रतिक्रिया