काठमाडौं । निर्वाचन आयोग आफ्नै निर्देशनबाट पछि हटेको हो । यसअघि गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता आयोगले लिएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले दलहरूलाई चैत १६ र २२ गते निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको बुँदा नम्बर ६ लाई संशोधन गरेको जनाएको छ ।
आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दलहरूलाई दिएको निर्देशनको बुँदा नम्बर ६ मा संशोधन गरी ‘स्थनीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैङ्गिक तथा समावेशी मैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार बनोनयमा प्राथमिकता दिने’हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । ’
यसअघि आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने भनेर निर्देशन दिएको थियो ।
प्रतिक्रिया