एनआरएनएको विवाद समाधानतर्फ

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको छ ।

एनआरएनएको १०औँ विश्व सम्मेलन चैत १० र ११ गते चुनावी प्रक्रिया टुंगिएपछि हुनेछ । संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताइएको छ ।

तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको जानकारी दिइयो । अध्यक्षका उम्मेदवार आचार्यले सहमतिको विकल्प नभएको बताए । अध्यक्षका प्रत्यासी बद्री केसीले संघको एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट नेतृत्व गर्ने सहमति भएको जानकारी दिए । अध्यक्षकी अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताइन् ।

प्रतिक्रिया