चैतमा पाँचौ निफ

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्यका साथ चैतमा महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नियमित गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को पाँचौ संस्करण आगामी चैत १० देखि १४ सम्म हुने भएको हो । आयोजकका अनुसार काठमाडौंमा हुने महोत्सवमा ५५ देशका चार सयभन्दा बढी चलचित्र सहभागिताका लागि प्राप्त भएका थिए । तीमध्ये निफ चलचित्र छनोट समितिले ३८ देशका ८९ वटा चलचित्र छानेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रको आवेदन परेका थिए । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र बजार बिस्तार गर्न महोत्सवले सहयोग पुर्याउने प्रतिष्ठानका अध्यक्ष अध्यक्ष केपी पाठकले बताए ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने मूल नाराका साथ हुने महोत्सवले ‘फिल्म संस्कृति’ को विकास गर्ने जनाइएको छ । यस महोत्सवमा यस वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार नगद पुरस्कारसहित ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको पाठकले जानकारी दिए । उनका अनुसार यसका अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । यस्र्त, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई समेत ट्रफी प्रदान गरिने अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया