अस्ट्रेलियन ओपन टेनिस : नाडाल अन्तिम आठमा


मेलबन । प्रभावशाली स्पेनिस खेलाडी राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ३५ वर्षीय नाडालले आइतबार भएको चौथो चरणको खेलमा एड्रिन मानारिनोलाई हराए । हाल छैटौं वरीयतामा रहेका नाडालले आफ्ना प्रतिद्वन्द्वीलाई ७—६ (१६÷१४), ६—२, ६—२ को सोझो सेटमा पाखा लगाएका हुन् । जारी प्रतियोगितामा नाडाल कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधिको खोजिमा छन् । मानारिनोको चोटले नाडाललाई अगाडि बढ्न अझ सहज भएको थियो ।

यद्दपि, मानारिनोले पहिलो सेटको खेलमा नाडाललाई गतिलो चुनौति दिएका थिए । नाडालले अब क्वार्टरफाइनलमा डेनिस सापोभालोभसँग प्रतिस्पर्धा गर्नेछन् । सापोभालोभ भने चौथो चरणको खेलमा तेस्रो वरीयतामा आसिन एलेक्जेन्डर जेरेभलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

हाल १४औं वरीयतामा आसिन क्यानेडियन खेलाडी सापोभालोभले आफुभन्दा बलियो प्रतिद्वन्द्वी जेरेभलाई ६—३, ७—६ (७÷५), ६—३ अंकले पाखा लगाएका थिए । अनुभवी नाडाल र सापोभालोभबीचको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ । नाडालले हालसम्म २० पटक विभिन्न ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितिसकेका छन् । उनले हालसम्म १३ पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसका अतिरिक्त उनले चारपटक यूएस ओपन, दुईपटक विम्बल्डन र एकपटक अस्ट्रेलियन ओपनको उपाधि चुमेका छन् । नाडालले सन् २००९ मा अस्ट्रेलियन ओपनको उपाधि कुम्ल्याएका थिए ।

गेल मोनफिल्स पनि प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । १७औं वरीयतामा आसिन मोनफिल्सले चौथो चरणको खेलमा मियोमिर केमानोभिचलाई ७—५, ७—६ (७÷४), ६—३ अंकले पराजित गरेका हुन् । यसैगरी महिला एकलतर्फको चौथो चरणको खेलमा आस्लिघ बार्टीले सफलता हात पारेकी छन् । अस्ट्रेलियन खेलाडी बार्टी अमान्डा आसिमोभालाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् । पहिलो वरीयताकी बार्टीले नतिजालाई ६—४, ६—३ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

महिला एकलतर्फ अमेरिकी खेलाडी माडिसन किज पनि क्वार्टरफाइनलमा पुगेकी छन् । २६ वर्षीया अनुभवी खेलाडी किजले चौथो चरणको खेलमा आठौं वरीयतामा आसिन पाउला बाडोसालाई ६—३, ६—१ को सोझो सेटमा पराजित गरेकी हुन् । किज अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि उनी कुनै पनि ग्रान्डस्लाम प्रतियोगितामा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् । उनी सन् २०१४ मा अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन् ।

जेसिका पेगुला भने चौथो चरणको खेलमा पाँचौं वरीयतामा आसिन प्रभावशाली प्रतिद्वन्द्वी मारिया साकारीलाई ७—६, ६—३ ले हराउँदै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिइन् । भिक्टोरिया अजारेन्का भने चौथो चरणमै पराजित भइन् । अजारेन्कालाई बार्बोरा क्रेजसिकोभाले ६—२, ६—२ को सोझो सेटमा पराजित गरिन् । बेलारुसकी ३२ वर्षीया खेलाडी अजारेन्का अस्ट्रेलियन ओपनकी दुई पटककी च्याम्पियन हुन् । उनले सन् २०१२ र सन् २०१३ मा अस्ट्रेलियन ओपनको उपाधि चुमेकी थिइन् ।

प्रतिक्रिया