सिके राउतका क्रियाकलाप उद्दण्ड, अभद्र, अशोभनीय र आपराधिक : जसपा

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालले गैरजिम्मेवार अभिव्यक्ति दिने आफ्नै पार्टीकी मन्त्री रेणु यादवको विज्ञप्तिमार्फत बचाउ गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जसपाले सिके राउतका क्रियाकलाप उद्दण्ड, अराजनीतिक, अभद्र, अशोभनीय र आपराधिक भएको दाबी गरेको छ । आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परे पनि जसपाले मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै प्रतिक्रिया दिएको छैन । मन्त्री यादवले गौ घटना दोहोर्याउने भन्दै सिके राउतविरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । अधिकांशले यस्तो अभिव्यक्ति दिने मन्त्रीले राजीनामा गर्नुपर्ने बताउँदै आएका छन् ।

जसपाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादव गत बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन् । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन्, ‘तुफानसँग नटकराउनुस् । नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो ।’ २०६३ चैतमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादीका २७ कार्यकर्ताको बीभत्स हत्या गरेका थिए ।

प्रतिक्रिया