पाल्तु कुकुरले चार वर्षीय बालकको हात नै छिनाल्यो

ओक्लोहामा सिटी । अमेरिकाको ओक्लोहामा सिटीमा घरमा पालिएको एउटा पाल्तु कुकुरले चार वर्षीय बालकको हातै चुडालिदिएको छ । पिटवुल प्रजातिको सो कुकुरका छाउरालाई छुन खोज्दा ती बालकमाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

फक्स न्युजलाई प्रहरीबाट प्राप्त जानकारीअनुसार एक्सल फोस्टर नामक ती बालकलाई टेकुम्सेस्थित घरमा उनकै हजुरबुबा र हजुरआमाकै अगाडि कुकुरले टोकेको थियो । प्रहरी अधिकारी आरोन म्याककोर्मिक घटनास्थलमा पुग्दा घाइते बालकलाई बोकेर उनकी हजुरआमा घरमा भेटिएकी थिइन् । उनीहरूले रक्तश्राव रोक्न बालकको पाखुरामा ब्यान्डेज गरिदिएका थिए ।

प्रहरी म्याककोर्मिक भन्छन्, ‘दृश्य भयाबह थियो । उनको चुडिएको हातको भाग कुकुरको खोरमा थियो । एउटा छाउराले त्यो चपाउँदै थियो ।’ तुरुन्तै अन्य प्रहरी अधिकारी र जनावर नियन्त्रण टोली पनि आए । तिनीहरूले आक्रमक पिटवुललाई नियन्त्रणमा लिएर बालकको पाखुरा पनि टिपे । प्रहरी प्रमुख जे.आर. किडनीले ट्रमा सेन्टरमा ती बालकको थुप्रै पटक शल्यक्रिया गरिएको र बालकका हजुरबुबा र हजुरआमा विगतमा उनको लालन पालनमा कुनै लापरबाही गरेको नदेखिएको बताएका छन् ।

प्रतिक्रिया