सभापतिमा देउवाको दोश्रो इनिङ्स

काठमाडौं । २०४८ को आठौं महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका शेरबहादुर देउवाले पहिलोपटक २०५७ माघमा १०औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । पोखरामा भएको त्यो महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा लडेका देउवाले ५ सय ७ मत ल्याएका थिए । गिरिजा ९ सय ३६ मत ल्याएर विजयी बने । देउवाले फेरि २०६७ मा भएको १२औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिए । तर फेरि हारे, सुशील कोइरालासँग । दुईपटक कोइराला परिवारसँग सभापति पदमा हारेका देउवाले यसपटक १४औं महाधिवेशनमा भने तिनै कोइराला परिवारका सदस्य शेखर कोइरालालाई हराएका छन् र दोस्रो कार्यकालका लागि पनि कांग्रेसको नेतृत्वकर्ता बनेका छन् । ७६ वर्षका उनी अब फेरि कांग्रेस हाँक्दै छन् ।

यतिबेला उनी देशका प्रधानमन्त्री पनि छन् । संयोग नै मान्नुपर्छ– गिरिजा र सुशीलसँग पराजित देउवाले दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा कोइराला परिवारकै सदस्यलाई हराएर चारवर्षे यात्रा सुरक्षित गरे । काठमाडौंमा आयोजित कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा सभातिका पाँच उम्मेदवार (शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ) कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र निकटतम प्रतिस्पर्धी शेखर कोइरालाबीच मंगलबार पुनः चुनाव गर्दा देउवा विजयी भएका हुन् । बुधबार बिहान सार्वजनिक मत परिणामअनुसार देउवाले ८ सय ७८ मतले उछिन्दै कोइरालालाई हराएका हुन् ।

विजयी देउवाले २ हजार ७ सय ३३ मत ल्याए भने पराजित कोइरालाले १ हजार ८ सय ५५ अर्थात् ४० प्रतिशतभन्दा बढी मत ल्याए । निर्वाचन समितिका अनुसार दोस्रो चरणमा पहिलो चुनावमा भन्दा १ सय १९ मत कम खस्यो । अर्थात् कूल ४ हजार ६ सय २३ मत खस्यो । २०५७ सालदेखि कांग्रेसको सभापति बन्ने देउवाको प्रयास १५ वर्षपछि रामचन्द्र पौडेललाई हराउँदै सफल भयो– २०७२ मा।काठमाडौंमै भएको १३औं महाधिवेशन (२०७२ फागुन) मा देउवा पहिलोपटक कांग्रेसको सभापति बने । गिरिजाको निधनपछि कांग्रेसमा कोइराला ‘लिगेसी’ थेग्ने कोही नेता नभएका बेला उनी कांग्रेसको नेतृत्वमा पुगेका थिए ।

रामचन्द्र पौडेललाई हराएर पार्टी सत्तामा पुगेका देउवाले स्थानीय, प्रदेश र संघीय चुनावमा भने सोचेजस्तो परिणाम ल्याउन सकेनन् । जसका कारण कांग्रेसभित्र उनीप्रति असन्तुष्टि चुलियो र १४औं महाधिवेशनमा उनको नेतृत्वलाई निरन्तरता दिन नहुने आवाज पनि उठ्यो । तर नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर चर्काे आवाज उठाइरहेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले नै दोस्रो चरणको चुनावमा एकाएक निर्णय फेरे र देउवालाई नै समर्थन गरे, जसका कारण शेखर कोइरालालाई हराउँदै अन्ततः दोस्रो कार्यकालमा पनि उनैले निरन्तरता पाए ।

२०५७ सालमा गिरिजा कोइरालालाई हराएर सभापति बन्न प्रयास गरेपछि देउवा र कोइरालाबीच मतभेद बढ्यो । यसपछि देउवाले दरबार (ज्ञानेन्द्र शाह) सँग निकटता बढाए । यसबाट पार्टीभित्र झन् विवाद चुलियो । जसका कारण २०५९ असारमा देउवाले मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेस फुटाए र नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरी सभापति बने ।

यसपछि राजा ज्ञानेद्रले २०६१ जेठ २० मा उनलाई प्रधानमन्त्री पनि बनाए । तर पछि ज्ञानेन्द्रले असक्षमको आरोप लगाउँदै उनलाई सत्ताच्युत गरे र देशको बागडोर आफ्नै हातमा लिए । अनि देउवाले ०६२÷०६३ को जनआन्दोलन हुँदै सुरु भएको शान्ति प्रक्रियापश्चात् २०६४ असोजमा पुनः मूल कांग्रेससँगै पार्टी एकीकरण गरे । त्यसबेला उनले वरिष्ठ नेतासहित ४० प्रतिशत हिस्सा पाए ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । उनले पटकपटक गरेर ९ वर्ष जेलजीवन बिताएका छन् । उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ । २०४८ सालयताका ६ वटै संसदीय र संविधान सभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित भइरहेका छन् ।

२०४८ मा गृहमन्त्री बनेका उनी त्यसको चार वर्षमै २०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २० मा तेस्रोपटक, २०७४ जेठ २३ मा चौथोपटक र पछिल्लोपटक २०७८ असार २९ मा पुनः प्रधानमन्त्री बनेका हुन् ।
पटकपटक प्रधानमन्त्री बने पनि देउवालाई सत्तामा टिक्न जम्बो मन्त्रिपरिषद् बनाएको, संसदमा पजेरोकाण्ड भित्र्याएको, संसद् भंग गरेर बहुदलीय व्यवस्था राजालाई सुम्पिएको र नेतृत्व पाउनकै लागि सबैभन्दा ठूलो पार्टी कांग्रेस फुटाएको आरोप लाग्ने गरेका छन् ।

प्रतिक्रिया