गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँच्चियाे

सप्तरी । जिल्लाको छिन्नामस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ । अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो । मंगलबार भएको कुटाकुटमा गाउँपालिकाका अध्यक्ष सूर्यनारायणको दाँत भाँच्चिएको बताइएको छ ।

गाउँ कार्यपालिकाको बैठकमा किसानलाई गहुँको बिउ वितरण गर्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि उपाध्यक्ष उषाकुमारीले अध्यक्ष सूर्यनारायणमाथि कुर्सी प्रहार गर्न खोजेको वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।

‘किसानलाई गहुँको बिउ वितरण गर्ने विषयमा विवाद भएको थियो । अध्यक्ष र उपाध्यक्षज्यूबीच भनाभन भइरहेको थियो । उपाध्यक्षज्यूले एक्कासी कुर्सी समातेर अध्यक्षज्यूमाथि प्रहार गर्न खोज्नुभो,’ वडाध्यक्ष यादवले भने, ‘उपाध्यक्षज्यूले कुर्सी प्रहार गर्न खोजेपछि अध्यक्षज्यूले प्रतिकार गर्दा झडप भयो । त्यसक्रममा अध्यक्षज्यूको दुईवटा दाँत भाँच्चिएको छ ।’ झडपका क्रममा उपाध्यक्ष उषाकुमारीको हातमा चोट लागेको बताइएको छ ।

प्रतिक्रिया