राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै प्रचण्डकाे परिपत्र (पत्रसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै परिपत्र जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनबारे जानकारी दिँदै परिपत्र जारी गरेका हुन् । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले खाने र बस्‍ने व्यवस्था आफैले गर्नुपर्ने परिपत्रमा उल्लेख छ । त्यस्तै प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको परिपत्रमा उल्लेख छ ।

आवेदन शुल्कबारेमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने जनाएको छ । त्यसैगरी सदस्यता शुल्क दाखिला गरेपछि पदाधिकारीको लागि बाँकी शुल्क मात्र लिने व्यवस्था मिलाउने बताइएको छ । २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरूको बैठक बसी राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्नु पर्नेछ । पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ ।

प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने उल्‍लेख छ । केन्द्रीय प्रतिनिधिको रुपमा प्रस्तावित नेताहरुको बारेमा सबै प्रदेशहरुसँग सल्लाह गरी समग्र र सन्तुलित प्रस्ताव पेश गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न नेताहरु गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, कमरेड गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सम्मेलनको व्यवस्थापनका लागि नेता हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया