आगामी निर्वाचनहरुमा पाँच पार्टी मिलेर जान्छौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनहरुमा सत्तारुढ गठबन्धनका पाँच पार्टीहरु मिलेर जाने बताएका छन् । यस विषयमा दलहरुबीच सहमति भइसकेको उनले दावी गरे । झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राष्ट्रियसभादेखि प्रतिनिधिसभाको चुनावसम्म मिलेर चुनाव लड्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘केही समयपछि राष्ट्रियसभाको चुनाव हुन्छ, त्यसमा पाँचवटा पार्टी मिलेर लड्छौं । त्यसपछि उपनिर्वाचन भयो भने त्यसमा पनि सँगसँगे जान्छौं । अनि, प्रदेशसभा, स्थानीय तह, प्रतिनिधिसभा सबैमा हामी मिल्छौं ।’ मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न नेपालले आग्रह गरे । एक्लै चुनाव लड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जवाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए ।

नेपालले भने, ‘२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ ? शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।’

यद्यपि, अब देशमा एकीकृत समाजवादीबाहेक अरु पार्टीको भविष्य नै नरहेको उनले ठोकुवा गरे । ‘भविष्य कसैको छ भने एकीकृत समाजवादीको छ, बाँकी पार्टीको पत्तासाफ हुनेवाला छ,’ उनले भने ।

प्रतिक्रिया