कांग्रेस महाअधिवेशन : यी हुन् ६ प्रदेशमा निर्वाचित सभापति

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन भएका ६ वटै प्रदेशको अन्तिम नतिजा सार्वजनिक भएको छ । पछिल्लो पटक लुम्बिनी प्रदेशको मत परिणाम सार्वजनिक भएसँगै ४ वटा प्रदेशमा संस्थापन र २ वटा प्रदेशमा इतर पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा इतर पक्षका अमरसिंह पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन ८ सय ५२ मतसहित सभापतिमा निर्वाचित हुँदा शाहले ७ सय ६७ मत ल्याए ।

यस्तै प्रदेश १ को सभापतिमा संस्थापन तर्फका उद्धव थापा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनामा इतर समूहका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । यो प्रदेशमा नेता कृष्ण सिटौला निकट थापालाई सभापति देउवा पक्षले सहयोग गरेको हो ।

यस्तै बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजय भएका छन् । इतर पक्षका जगदीश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्दै बानियाँ विजयी भए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत पाउन नसेकेपछि दोस्रो चरणमा भएको मतदानमा बानियाँले १ हजार ८५ र केसीले ९ सय २७ मत प्राप्त गरे। पहिलो चरणमा तेस्रो भएका सिटौला समूहका भीमसेनदास प्रधानले दोस्रो चरणमा बानियाँलाई समर्थन गरेका थिए ।

यस्तै हिजै मतगणना सकिएको गण्डकी प्रदेशमा संस्थापन इतर समूहका शुक्रराज शर्मा विजयी भएका थिए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका क्रमश ललितजंग शाही र वीरबहादुर बलायर विजयी भए । प्रदेश २ मा भने क्षेत्रीय प्रतिनिधि चयनको विषयलाई लिएर केही जिल्लामा विवाद जारी रहँदा प्रदेश अधिवेशन उद्घाटन गरेर स्थगित भएको छ ।

प्रतिक्रिया