राप्रपा महाधिवेशन सुरु : ज्ञानेन्द्रको ‘हरियो झण्डा’ लिङ्देनलाई !

काठमाडौं । ‘पार्टी विभाजनका बेलामा निर्मल निवाससँग नजिक रहेका केही आधिकारिक व्यक्तिहरूले चाहिनेभन्दा बढी चासो देखाउनुभयो र पार्टी फुट्यो । त्यो तीतो अनुभव हामीसँग छ,’ राप्रपाका अध्यक्ष कमल थापाले सार्वजनिक रूपमा भनेका छन्– ‘यदि पार्टीको आन्तरिक प्रतिस्पर्धामा दख्खल दिने र पक्ष–विपक्षमा बाँडिने कुनै पनि संकेतहरू देखियो भने त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ ।’ महाधिवेशनको सम्मुखमा अध्यक्षका प्रत्यासी थापाले यी सन्दर्भ उप्काउनुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग थापाको सम्बन्ध हार्दिक छैन भन्ने जनाउँछ । राप्रपा फुटाउने भूमिकामा निर्मल निवासको भूमिका रहेको प्रस्ट बताएका थापाले अहिलेको महाधिवेशन पनि प्रभावित गराउन खोजेको संकेत गरेका छन् ।
त्यसले यो महाधिवेशनमा ज्ञानेन्द्रनिवास ‘निर्मल निवास’ कमल थापाको विकल्पको खोजीमा छ भन्ने सन्देश प्रवाह भएको छ । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाको पार्टीले राजसंस्था र हिन्दू धर्मको नारामा बलियो मत ल्याएको थियो । प्रत्यक्षतर्फ एउटै सिट नजिते पनि संविधानसभामा २५ सिट पुर्याएको थियो ।

०६४ को संविधानसभा निर्वाचनमा ४ सिटमा सीमित राप्रपा नेपाल राजसंस्था र हिन्दूकै नारामा दोस्रो पटक २५ सिटमा उक्लिएपछि अध्यक्ष थापाले त्यसलाई संगाल्न नसकेको बुझाइ ‘निर्मलनिवास’को रहेको विश्लेषण राप्रपाभित्र छ । थापाले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा ३ असोज ०७२ मा गणतन्त्र र धर्मनिरपेक्ष संविधानको समर्थन मात्र गरेनन्, लगत्तै गठित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भए । यी घटनाले राप्रपाको मूलः चरित्र स्खलन भएको र जनमत कमजोर भएको बुझाइ ‘निर्मलनिवास’ को छ । त्यसकारण पनि अहिले थापाको विकल्पमा निर्मल निवास अप्रत्यक्षमा सक्रिय रहेको राप्रपाका नेताहरूको बुझाइ छ । निर्मलनिवासको संकेत बुझेर नै पशुपति शमशेर राणा तटस्थ बस्ने निर्णयमा पुगे भने प्रकाशचन्द्र लोहनी थापाको विकल्पमा उदाएका राजेन्द्र लिङ्देनको समर्थनमा देखिए ।

सीपी र प्रचण्डको जुहारी 
राप्रपाको महाधिवेशनमा अतिथि बोलाइएका सीपी मैनालीले राजा पृथ्वीनारायण शाहपछिको राष्ट्रवादी राजाका रुपमा महेन्द्रलाई चित्रित गरे । उनी यतिमा मात्रै रोकिएनन् । २०१७ सालमा महेन्द्रले गरेको ‘कु’ लाई उनले ‘दक्षिणपन्थी राष्ट्रवादी कदम’ का रुपमा सकारात्मक विश्लेषण गरे ।

मञ्चमै रहेका प्रचण्डलाई औल्याउँदै मैनालीले माओवादीले विदेशी एजेन्डा बोकेर नेपालमा राजनीति गरिरहेको आरोप लगाए । सोही अधिवेशनमा मैनालीपछि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिए ।

उद्घाटन समारोहमा शुभकामना दिँदै प्रचण्डले मैनालीलाई साँच्चिकै राप्रपाको अध्यक्ष बन्न लागेको हो भने बधाई छ भन्दै व्यंग्य गरे । सम्बोधनका क्रममा माले महासचिव मैनालीले राजा महेन्द्र सबैभन्दा बढी राष्ट्रवादी भएको बताएका थिए । त्यसप्रति टिप्पणी गर्दै प्रचण्डले भने, ‘सीपीजीले साह्रै सजिलै महान राजा भनेर बोल्नुभयो । राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे, मलाई त्यस्तै लाग्यो । साँच्चै त्यसो हो भने बधाई छ ।’ प्रचण्डले अब राजनीति पछाडि फर्कन नसक्ने बताए । उनले राप्रपासँग विचार र सिद्धान्त नमिले पनि राष्ट्रिय भावना र स्वाधिनताका एजेन्डामा भने एकै ठाउँमा रहेको बताए ।

‘सडकको बलमा राजा फर्काइँन्छ’ 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद र सडकको बलमा राजसंस्था पुनःस्थापित गर्ने बताएका छन् । आफूहरूले सडकको शक्ति आर्जन गरिसकेपछि संविधानअनुसार दुईतिहाइ पर्खेर नबस्ने उनको भनाइ छ । राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस उतारेर राजा फर्काउने बताए ।

थापाले भने, ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजा ल्याऊ हो । जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा दुईतिहाइ धारा पर्खेर राप्रपा बस्दैन । संसदको शक्ति र सडकको शक्तिबाट राजालाई नागार्जुनबाट नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’ थापाले हिन्दू राष्ट्रको स्थापनाका लागि पनि संविधानको दुईतिहाइ पर्खेर नबस्ने बताए । ‘जून दिन सडकको र संसदको शक्ति आर्जन गर्छौं, उपयुक्त बाटोबाट आफ्ना मान्यता स्थापित गर्नेछौं,’ थापाले भने ।

प्रतिक्रिया