नेपाल हङकङसँग पराजित

काठमाडौं । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झड्का लागेको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित उत्कृष्ट विजयी इनिङ खेल्दै अघिल्लो चरण सहज बनाएकी छिन् ।

तीव्र गतिकी बलर कविता कुँवरले तेस्रो ओभरको दोस्रो बलमा ओपनर यास्मीन दासवानीलाई काजल श्रेष्ठबाट दुई रनमा क्याच गराएकी थिइन् । त्यसपछि ब्याटिङमा आएका नताशा मिल्सले १३ बलमा ३ चौका सहित १६ र कप्तानी केरी चानले २२ बलमा २ चौका सहित १७ रन जोडेपछि हङकङले खेलमा पडक जमाएको थियो । नेपालको कविता कुँवर, सीता रानामगर र सबनम राईले १–१ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन् ।

तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए । नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कविता कुँवरलाई शून्यमा गुमाएको थियो । बेट्टी चानले मरिको हिलबाट कवितालाई क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र सीताले ४५ बलमा २१ रनको साझेदारी गरेका थिए । काजल कप्तान केरी चानको आठौं ओभरको पाँचौं बलमा ४ रनमा हिलबाट क्याच हुन पुगेकी थिइन् ।

नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र हुँदैन । हङकङले बाँकी खेलमा कम्तिमा एक अव हार्नुपर्ने हुन्छ । नेपालले दोस्रो खेलमा मंगलबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया