अष्ट्रेलियामा बजार खुल्यो, कामदार अभाव

सिड्नीं । दुई वर्षसम्म कहिले हटाइने त कहिले लगाइने लकडाउनपछि ‘जमघट’ लागि अष्ट्रेलिया तयार भएर बसेको छ । तर कामदार र विदेशी विद्यार्थी आ–आफ्नो घर गएकाले रेष्टुरेन्टदेखि खेलकुद केन्द्रसम्म कर्मचारीको अभाव देखिन थालेको छ । त्यस्तै, कडाइका साथ सीमा बन्द गरिएको हुँदा बजारमा अनौपचारिक कामदार (क्याजुअल वर्कर्स) को अभाव देखिन थालेको छ । अर्थतन्त्र खुला भएको छ । तर सिड्नीज अल सिजन्सजस्ता हस्पिटालिटी केन्द्रित फर्मले सेवा दिन सकेका छैनन् । सर्वसाधारणको भीड हुने व्यवसायमा सबैभन्दा धेरै श्रम अभाव देखिएको रोएटर्सले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार रोजगार भिसा पाएका गैरआवासीय कामदारको संख्या गत वर्षदेखि यो वर्षको जुनसम्म दुईतिहाइले घटेको छ । अन्य देशबाट पढ्न आउने विद्यार्थीको संख्या समेत त्यसरी नै घटेको भिक्टोरिया विश्वविद्यालयका शिक्षा नीतिसम्बन्धी सोधकर्ता पिटर हर्लीले बताए । हाल अष्ट्रेलियामा रहेका विद्यार्थीको संख्या महामारी शुरु हुँदाको भन्दा झण्डै आधाले कम छ ।

२२ लाख अनौपचारिक कामदार बस्ने सिड्नीमा चार महिनापछि लकडाउन हटाइएको छ । तर त्यहाँ काम गर्ने मानिस फेला पार्न कठिनाइ भइरहेको छ । न्यू साउथ वेल्स राज्य सरकारले विदेशी विद्यार्थीलाई पुनः ल्याउने तयारी गरेको छ । श्रम अभाव पूर्ति गर्न अष्ट्रेलिया प्रवेश गर्न पाउने विद्यार्थीको संख्या महामारीपूर्वको तुलनामा दोब्बरले बढाएर हरेक वर्ष ४ लाख पु¥याउने राज्य सरकारको भनाइ छ । देशभर १६० पब (रक्सी पसल) र क्लब सञ्चालन गर्दै आएको अष्ट्रेलिया भेन्यु कम्पनीले तीन महिनाभन्दा बढी बस्ने नयाँ किचेन तथा फ्लोर स्टाफलाई एक हजार अष्ट्रेलियन डलर बराबरको भौचर दिने बताएको छ । कर्मचारी नभेटिएपछि कम्पनीले यस्तो अफर गरेको हो ।

सिड्नीमा विश्वविद्यालय, व्यवसायिक तथा सरकारी भवनलाई सुरक्षा प्रदान गर्दै आएको एमएसएस सेक्युरिटी कम्पनीले हरेक वर्ष उद्योगमा चाहिने तालिममा १० लाख डलर खर्च गर्ने बताएको छ । त्यस्तै, गत वर्षको शुरुदेखि खाली रहेको पद चार सय पद पूर्ति गर्न सघाउने कम्पनीका प्रबन्ध निर्देशक जीओफ एलकले बताए । यता बोन्डी बीचस्थित पोम्पेई नामक लोकप्रिय इटालियन कम्पनी आफ्ना आधा कर्मचारी देश छोडेका कारण आफ्नो सेवा सीमित पार्ने बताएको छ । लकडाउनमा समेत घर–घरमा खाना डेलिभरी गरेको सो कम्पनीका मालिक जर्ज पोम्पेईले २० वर्षपछि पहिलो पटक शनिबार र आइतबार रेन्टुरेन्ट बन्द गर्न लागेको बताए । सम्भावित व्यक्तिलाई रेष्टुरेन्टमा काम गर्न आएबापत् २ हजार अस्ट्रेलियन डलर अग्रीम बोनस (साइन अन बोनस) भनेर विज्ञापन गर्दा पनि अन्तर्वार्ता दिन कोही नआएको पोम्पेईले गुनासो गरे ।

प्रतिक्रिया