बागलुङ । प्रमुख दल (नेकपा एमाले) र नेपाली कांग्रेसको पालिका अधिवेशनबाट बागलुङमा महिला नेतृत्व शून्य भएको छ । दसैँअघि नेपाली कांग्रेसले गरेको १० वटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले पनि महिलालाई नेतृत्वमा ल्याउन नसकेको हो । संविधानमा नै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरेका दलहरूले नै आफ्नै पार्टी संरचनामा महिलाको नेतृत्व पु¥याउन सकेका छैनन् । बागलुङमा जारी रहेको नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत ६ वटा स्थानीय तहमा पुरुष अध्यक्ष बनेका छन् ।
कांग्रेस र एमाले दुवैले जिल्लाका ८५ वडामध्ये कुनै पनि वडामा महिला अध्यक्ष निर्वाचित गर्न सकेनन् । दलहरूका विधानमा समेत ३० देखि ४० प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि आफ्नै विधान विपरीत नेतृत्व चयन गरेका हुन् । यो समाचार तयार पार्दासम्म एमालेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएका बागलुङका ६ वटा पालिकामा पुरुष नै नेतृत्वमा आए । तमान खोला गाउँपालिकामा उपाध्यक्षबाहेक अन्य पालिकामा उपाध्यक्षसमेत पुरुष नै भए । अधिवेशन हुन बाँकी रहेको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र निसीखोला गाउँपालिकमा पनि पुरुष नै नेतृत्वमा आकांक्षी छन् भने आजका लागि निर्वाचनको समय तोकिएको बागलुङ नगरपालिकामा ६ जना पुरुष अध्यक्षका आकांक्षी छन् ।
‘महिला प्रमुख हुन विधानमा नै तोकिनुपर्ने हो र ? खै त नेतृत्वको सोच ?’ एमाले बागलुङकी क्रियाशील नेतृ ममतादेवी शर्माले सामाजिक सञ्जालमा प्रविष्ट गरेको विचारले प्रस्ट हुन्छ महिला नेतृत्वमा आउन चाहन्छन् तर वातावरण छैन । अखिल नेपाल महिला संघ बागलुङकी संयोजक सावित्रा रानाले महिला नेतृत्वमा आउने वातावरण नै तयार नभएको बताइन् ।
नेतृत्वमा ल्याउनका लागि पहिलेदेखि नै महिलाका लागि राजनीतिमा सहज वातावरण बनाउनुपर्ने उनको तर्क छ । ‘नेतृत्व पाइएन भन्ने मात्रै होइन त्यो खालको वातावरण नै बनेको छैन्, पुरुषजस्तो गरी राजनीतिमा पूरा समय महिलाले दिने र लाग्ने वातावरण बनाउनुपर्छ’, उनले भनिन्, ‘हामीले सुरुआत गरेका छौँ, आगामी अधिवेशनमा अहिलेको जस्तो शून्य उपस्थिति नरहला भन्ने आशा गरौँ ।’
महिलाको नेतृत्वमा उपस्थितिको विषयमा पुरुषले पनि आवाज उठाउन थालेका छन् । ‘घरको कार्यक्रममा अबिर जात्रा जरूरी छैन हारजितको मनोभावनलाई भुलिदेउ र महिलाको ३३ प्रतिशत अधिकारलाई मुख्य पदमा सम्मानपूर्वक राखौँ । मञ्चको चिल्ला भाषणले मात्र पार्टी बन्दैन है’, बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष तथा एमालेका नेता राजन जिसीले सामाजिक सञ्जालमा लेखेका छन् । पालिका र वडा तहको नेतृत्व छनोट हुँदा पदाधिकारी बाहेकका पदमा भने पार्टीले गणपुरक संख्या पु¥याउनका लागि महिला सहभागी गराउने गरेका छन् ।
दलहरूले नै बनाएको संविधानअनुसार स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर आफैँले बनाएको विधि दलहरूले माननेन् । बागलुङमा स्थानीय तहको निर्वाचनका समयमा कागजमा एकथरी, मैदानमा अर्कोथरी उम्मेदवार खडा भए । पार्टी मिलेर चुनावी मैदानमा जाँदा उम्मेदवारी कायम रहेका महिलालाई मत मागेनन् । कानुनी अड्चन नआउनेगरी उम्मेदवारी फिर्तादेखि मत माग्न लगाउनेसम्मका काम भए । फलस्वरुप बागलुङका चार वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुष नै छन् ।
कानुनी व्यवस्था भए पनि निर्वाचनको समयमा प्रक्रिया मिलाएर उनीहरू प्रमुख र उपप्रमुख भए । दुई फरक राजनीतिक दलबाट सहभागी छन् । स्थानीय तहमा महिलाको सहभागिता न्यून बनाएका राजनीतिक दलहरूले पार्टीको आन्तरिक निर्वाचनमासमेत वडा र पालिका तहमा महिलालाई नेतृत्व दिन सकेनन् । वडा र पालिकामा भएको अधिवेशनमा नेतृत्वमा मात्रै होइन पदाधिकारीमा समेत महिला शून्यप्रायः देखिए । महिलाले नेतृत्व नपाएको असन्तुष्टि त प्रश्स्तै छन् तर जाने ठाउँ छैन । साना राजनीतिक दलहरूको तुलनामा बागलुङमा ठूला राजनीतिक दलमा महिला नेतृत्वमा कम आउने गरेका छन् ।
प्रतिक्रिया