शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् ।संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासंघबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताए । उनले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई संघले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराए ।

संघीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक संघलाई सहभागी गराई शिक्षाका नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानून निर्माणमा सहभागी गराउन आग्रह गरे । उनले निःशुल्क शिक्षा भने पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको जानकारी गराए ।

कार्यक्रममा संघका उपाध्यक्ष कोषबहादुर जिसीले अभिभावक संघको सहभागितामा शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने, विद्यालय वर्गीकरण, अनुगमनमासमेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा व्यवस्था नहुँदा समस्या आएको मन्त्री पौडेललाई जानकारी गराए ।

संघका महासचिव रामचन्द्र सुवेदी, सचिव रामकृष्ण प्रजापतिलगायतले संस्थागत विद्यालयमा भएका समस्याकाबारेमा अवगत गराएका थिए ।

प्रतिक्रिया